राजनीति

वनस्पतिको संरक्षण गरिए थप आम्दानीको स्रोत : मुख्यमन्त्री राउत

इकागज |
चैत २९, २०७८ मंगलबार १९:१९ बजे

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले औषधीय गुणले भरिपूर्ण मुलुकमा पाइने वनस्पतिको संरक्षण समृद्धिको आधार बन्न सक्ने बताएका छन् ।

मंगलबार धनुषाधाममा २३ औ वनस्पति दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र धनुषाद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको ठूलो सम्पतिको रुपमा रहेकका वनस्पतिको संरक्षण गर्न सकिए राम्रो आम्दानी गर्न सकिने बताए ।


उनले नेपालमा पाइने जडिबुटीहरुको माग विदेशमा समेत भइहेकाले पर्याप्त मात्रा रहेपनि संरक्षण अभावमा खेर गइरहेको बताउँदै त्यसलाई संरक्षण गर्न प्रदेश सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

संघीय सरकारको मातहतमा रहेका धनुषाधाम संरक्षित वन क्षेत्रसंग जोडिएको वनस्पति उद्यान पर्यटकीय विकासमा समेत टेवा पु¥याए आम्दानीको थप स्रोत हुन सक्ने भएकाले प्रदेश सरकारले यसमा पनि सक्दो सहयोग गर्ने बताए ।

वनस्पति अनुसन्धान केन्द्रका प्रमुख ताहिर हुसेनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव सहितका वक्ताहरुले वनस्पतिको उपयोगिता बारे आफ्ना विचार राखेका थिए ।

हाल २ सय ७६ प्रजातिका वनस्पतिहरु रहेको सो धनुषाधाम वनस्पति उद्यानमा पिपलको विरुवा रोपेर कार्यक्रमको मुख्यमन्त्री राउतले उद्घाटन गरेका थिए । 


Author

थप समाचार
x