राजनीति

विराटनगरको मेयरमा ६ जनाको नाम सिफारिस, इटहरीमा द्वारिकलालको नाम काटियो

इकागज |
बैशाख ६, २०७९ मंगलबार १८:२२ बजे

विराटनगर - नेकपा एमाले प्रदेश १ कमिटीले विराटनगर महानगरपालिकासहित इटहरी र धरान उपमहानगरका आकांक्षी मेयर उपमेयरहरुको नाम सिफारिस गरेको छ ।

मंगलबार विराटनगरमा बसेको प्रदेश कमिटीका पदाधिकारीसहित उपलब्ध स्थायी कमिटी सदस्यसहितको बैठकले विराटनगरको मेयरमा सागर थापासहित पाँचजनाको नाम सिफारिस गरेको छ । 


बैठकले मेयरका लागि केन्द्रीय सदस्य जीवन घिमिरेको नाम रायका रुपमा उल्लेख गरेर पठाएको जनाइएको छ । घिमिरेको नाम केन्द्रीय कमिटीमा पठाइएको लिष्टमा उल्लेख छैन तर उनको नामलाई नोटका रुपमा उल्लेख गरेर रायका स्वरुप पठाएको जनाइएको छ ।

मेयरमा नगर कमिटीबाटै सिफारिस भएर आएका केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, पर्शुराम बस्नेत र महेश भट्टराई सिफारिस भएका हुन् ।

त्यसैगरी उपमेयरका लागि शिल्पा कार्की, विमला दाहाल (घिमिरे) र अन्जु उपाध्याय (शिवा) को नाम सिफारिस गरेको नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका सचिव चिन्तन पाठकले जानकारी दिए । प्रदेश कमिटीलाई नाम सिफारिस गर्ने र केन्द्रीय कमिटीले निर्णय गर्ने अधिकार भएकोले प्राप्त भएका नामहरुमाथि आवश्यक छलफल गरी उनीहरुको नाम पठाइएको सचिव पाठकले बताए । 

एमालेले प्रदेश १ का दुईवटा उपमहानगर मध्ये इटहरीको मेयरमा चारजना र उपमेयरमा पाँचजनाको नाम सिफारिस गरेको छ । मेयरमा आकांक्षी रहेका वर्तमान मेयर द्वारिकलाल चौधरीको नाम भने हटेको छ । उनको नाम नगर कमिटीबाट सिफारिस भएर आएको थियो ।

इटहरीमा यामकुमार सुब्बा, वर्तमान उपमेयर लक्ष्मी गौतम, तैयव हुसेन र रामप्रसाद चौलागाँईको नाम मेयरमा सिफारिस भएको छ । त्यस्तै उपमेयरमा संगीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, बिष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस भएको हो ।

धरानमा एमालेले मेयरमा मोतिराज सुनुवार, वर्तमान उपमेयर मन्जु भण्डारी, विजय राई र मनोज मेयाङ्बोसहित चारजनाको नाम सिफारिस गरेको छ । उपमेयरमा भने वर्तमान उपमेयर भण्डारी समेत अटाएकी छन् । उनीसहित पदम लिम्बु, लहरुमाया जिमी, सविता राई र सुशिला पहाडी सिफारिस भएका हुन् । सिफारिस भएका नाम मंगलबार नै केन्द्रीय कमिटीमा पठाइएको एमाले प्रदेश सचिव पाठकले जानकारी दिए ।


Author

थप समाचार
x