राजनीति

यी हुन् कांग्रेसको स्थानीय सरकारले अनुशरण गर्ने सैद्धान्तिक अवधारणा

इकागज |
बैशाख ११, २०७९ आइतबार १६:४९ बजे

काठमाडौं – नेपाली कांग्रेसले आज घोषणापत्र मार्फत कांग्रेसको नेतृत्व रहने स्थानीय सरकारले पालना गर्ने सैद्धान्तिक अवधारणाहरु सार्वजनिक गरेको छ । 

संविधानको मर्म र भावना तथा नेपाली नागरिकको चाहना अनुरुप सैद्धान्तिक अवधारणाहरु तयार पारिएको घोषणापत्रमा जनाइएको छ ।


‘संविधानप्रदत्त नागरिकको स्वतन्त्रता र अधिकारलाई विस्तार गरी व्यक्तिको प्रतिभाको प्रष्फुटन गराउने वातावरण निर्माण गर्दै नागरिकको पहिचान, प्रगति र प्रतिष्ठालाई मजवुद बनाउने,’ कांग्रेसले घोषणापत्रमा भनेको छ, ‘जनतामुखी नीति अनुशरण गरी उत्तरदायी र जवाफदेही रूपमा सरकार सञ्चालन गर्ने ।’ 

समुन्नत नेपालको राष्ट्रिय आकाङ्क्षा अनुरुप स्थानीय तहले समुन्नत गाउँ, समुन्नत नगरका नीति र कार्यक्रमको ठोस मार्गचित्र तय गरी कार्यान्वयन गर्ने कांग्रेसको अवधारणा छ । 

संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई प्रत्याभूत गरेका जिम्मेवारी बहन गरी अधिकार सम्पन्न र प्रभावकारी सरकार सञ्चालन गर्ने कांग्रेसले जनाएको छ । 

दिगो विकासको लक्ष्य अनुसार स्थानीय तहले हासिल गर्न सक्ने स्थानीय लक्ष्य निर्धारण गरी प्रभावकारीरूपमा कार्यान्वयन गर्ने पनि कांग्रेसले बताएको छ । 

‘सामाजिक न्याय र समावेशिताको संवैधानिक मर्मलाई आत्मसात गर्दै सवै क्षेत्रमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्ने,’ घोषणापत्रमा उल्लेख छ । 

नागरिकको भरोसा र विश्वास जित्ने गरी स्थानीय सरकारलाई जनताको सेवकको रूपमा विकसित गर्ने सैद्धान्तिक अवधारणा कांग्रेसको छ । 


Author

थप समाचार
x