राजनीति

मकवानपुरका ४९ जना उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

सरिता दाहाल |
बैशाख १६, २०७९ शुक्रबार १९:४५ बजे

मकवानपुर – आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका मकवानपुरको ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

फिर्ता लिनेमा हेटौंडा उपमहानगरपालिकामा मेयरमा मनोनयन दर्ता गरेका  ३ जना, उपमेयरमा मनोनयन दर्ता गरेका २ जना सहित सहित ४९ जना छन् । मेयरमा मनोनयन दर्ता गरेकी जसपाकी दीपा लामा, नेपालका लागि नेपाली अभियानका सुकुन्दप्रसाद आचार्य र स्वतन्त्र उम्मेदवार सुरक्षा रिजालले मेयरबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उपमेयरमा नेकपा समाजवादीकी मखकुमारी तिमल्सिना र जसपाका हरिहर खतिवडाले उम्मेदवारी फिर्ता लिएका छन् ।


उनीहरुसँगै गाउँपालिका अध्यक्ष, नगर र गाउँपालिकाको वडा अध्यक्ष र सदस्यमा गरी ४९ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । नेपाली कांग्रेस (वीपी) समूहबाट उपमेयर बनेकी जानुकी लामाले भने उम्मेदवारी फिर्ता लिइनन् ।

जसपाबाट हेटौंडा उपमहानगरपालिको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका दिपा लामा र हरिहर खतिवडाले उम्मेदवारी फिर्ता लिँदै आफुहरुको समर्थन गठबन्धनको आधिकारिक उम्मेदवारलाई भएको प्रतिक्रिया दिए । मनोनयन दर्ताको दोस्रो दिनसम्म पनि गठबन्धनमा सहमति जुट्न नसकेपछि जसपाले हेटौंडाको मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको थियो । हेटौंडाको मेयरको लागि राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहलाई समर्थन गर्दै नेपालका लागि नेपाली पार्टीका उम्मेदवारसुकुन्द प्रसाद आचार्यले मेयर पदमा दिएको उम्मेद्वारी फिर्ता लिएका छन् ।

मकवानपुरका दश वटै स्थानीय तहमा बागमी उम्मेदवारी दिएकाहरु मध्य आज धेरैले उम्मेदवारी फिर्ता लिएका हुन् । मकवानपुरको हेटौंडा, मनहरी, बकैया, मकवानपुरगढी, भीमफेदीलगायतका स्थानीय तहमा गठबन्धन भित्र पनि बागी दिएकाहरु धेरै जना र एमालेबाट पनि बागी दिएकाहरु मध्य केहिले उम्मेदवारी फिर्ता लिएका हुन् । स्वतन्त्र उम्मेदवारी दिएकाहरूले समेत उम्मेदवारी फिर्ता लिएका छन् ।

पार्टीको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको दवाबका कारण र कार्बाहीमा परिने भएका कारण गठबन्धनमा रहेका दलहरुका बिचमा बागी उम्मेदवारी दिएकाहरुले आफ्ना उम्मेदवारी फर्ता लिएका हुन् ।

पार्टी भित्रबाट र स्वतत्त्र रुपमा उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिन बिभिन्न आश्वासन दिइएको छ । पार्टीभित्र र बाहिर लाभको पद दिएर उम्मेदवारी फिर्ता लिन बाध्य बनाइएको पाईएको छ ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा ८ जना उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन् । दुई जना अध्यक्षका उम्मेदवार, चार जना वडाअध्यक्षका उम्मेदवार र दुई जना वडासदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालय इन्द्रसरोबरले जनाएको छ ।

कार्यालयका अनुसार कुन्साङ लामा र दिपक कुमार ठकुरीले अध्यक्षको मनोनयन फिर्ता लिएका छन् । त्यस्तै गाउँपालिका वडा नं.२ का रत्न बहादुर थापा मगर, वडा नं.३ का राजन कुमार ठकुरी, वडा नं.४ का सिंगा बहादुर लामा र वडा नं.५ का राजन लामाले वडाध्यक्षको उम्मेदवारी फिर्ता दिएका हुन् । त्यसैगरी वडासदस्यतर्फ वडा नं. २ का अरुण तामाङ र वडा नं.२ का ईनोद लामाले उम्मेवदवारी फिर्ता दिएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । गठबन्धन तोडेर आफ्नो उम्मेदवारी दिएको जनता समाजवादी पार्टीले मकवानपुरमा गठबन्धनलाई सघाउने भएको छ ।

नेपाली कांग्रेसका युवा नेता रविन्द्र घिमिरेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीले हेटौंडा–२ को टिकट दिएपनि उम्मेदवार बन्न नपाएका घिमिरेले स्वतन्त्रमा वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए । कांग्रेसले हेटौंडा–२ को वडाअध्यक्ष विष्णुगोपाल महर्जनलाई आधिकारिक मानेपछि घिमिरे व्याक भएका हुन् । पार्टीले उनलाई जिल्ला सदस्य समेत मनोनित गरेको छ ।

नेपाली कांग्रेस (वीपी) पार्टीबाट मनहरी गाउँपालिका उम्मेदवार बनेको शंकर न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेसले टिकट वितरणमा विभेद गरेकोभन्दै उनले उम्मेदवारी दिएका थिए ।

कांग्रेस जिल्ला अध्यक्ष बुद्ध लामा र प्रवक्ता अर्जुन चौलागाईंले मनहरी नै पुगेर उनको उम्मेदवारी फिर्ताका लागि पहल गरेका थिए । उनले पार्टीले टिकट वितरणलाई व्यवस्थित नबनाएकोप्रति दुःख व्यक्त गरेका थिए । न्यौपाने अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा उम्मेदवार थिए । उनी थोरै मतान्तरले पराजित भएका थिए।  


Author

थप समाचार
x