राजनीति

निर्वाचन कर्मचारी फिल्ड जाँदै, संवेदनशील मतदानस्थलमा अनुभवी कर्मचारी

सरिता दाहाल |
बैशाख २२, २०७९ बिहीबार १५:३९ बजे

मकवानपुर - आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि मकवानपुर जिल्लामा १ हजार ८ सय जना कर्मचारीहरु विभिन्न मतदान केन्द्रमा खटिने भएका छन् ।

मकवानपुरको दश वटा स्थानीय तहका मतदान केन्द्रहरुमा उक्त संख्यामा सरकारी कर्मचारी खटिएका हुन् । आगामी ३० वैशाख शुक्रबार हुने स्थानीय तहको चुनावमा दश स्थानीय तहका १ सय २ वटा वडामा रहेका ३ सय ६५ मतदान केन्द्रमा कर्मचारीहरु खटिएका हुन् । उनीहरु निर्वाचनको तीन दिनअघि खटिएका मतदान केन्द्रमा पुग्नुपर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदान अधिकृतको निर्देशनमा काम गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।

अघिल्ला निर्वाचनमा शान्तिपूर्ण निर्वाचन हुने वा नहुने भन्ने आशंकाका कारण कर्मचारी निर्वाचन विशेष कार्यक्रममा जान इच्छुक नहुने गरेपछि कर्मचारी व्यवस्थापनमा समस्या हुने गरेको थियो । तर यसवर्ष यो समस्या नभएको कार्यालयले जनाएको छ । शान्तिपूर्ण हुने निर्वाचन र प्रदेश राजधानी थपिएपछि कर्मचारीको संख्या ह्वात्तै बढ्दा सहज भएको हो ।

जिल्लाको १ सय ६५ वटा मतदानस्थलमा १ हजार ८ सय कर्मचारी खटाउँदा पर्याप्त रहेको शर्माले बताए । मकवानपुर जिल्लामा ३ हजार ४ सय जना सरकारी कर्मचारी कार्यरत छन् । अझै एक हजार ६ सय कर्मचारी मौज्दात रहेका छन् ।

कर्मचारी पर्याप्त भएका कारण पनि यस पटकको स्थानीय तहको चुनावमा शिक्षकहरुलाई नखटाइने भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्मचारी अपुग भएपछि शिक्षकलाई पनि खटाउने गरी तयारी भएको थियो । तर, भएका सबै कर्मचारीलाई पनि नखटाउने भएपछि शिक्षकहरुलाई यसपटक नखटाउने भएको सहायक निर्वाचन अधिकृत शर्माले बताए ।
 

यसैबीच जिल्ला प्रशासन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको निर्वाचन सुरक्षाबारे सबै तयारी पूरा गरेको छ । जिल्ला मकवानपुरमा आन्तरिक सुरक्षा योजना निर्माण कार्य एक साता अगावैबाट तयारी गरिएको हो । निर्वाचन लक्षित सुरक्षा योजना अनुसार जिल्लाको १९ वटा निर्वाचनस्थललाई अति संवेदनशील मानेर सुरक्षा व्यवस्थापन कडाइ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार जिल्लामा रहेका १ सय ६५ वटा निर्वाचनस्थललाई तीन भागमा विभाजन गरी सुरक्षाको व्यवस्था मिलाइने तयारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार १९ वटा अतिसंवेदनशिल, ६० वटा संवेदनशील र ८६ वटा सामान्य गरी तीन भागमा मतदान स्थललाई विभाजन गरिएको छ । जिल्लाको राक्सिराङ, कैलाश, बागमती र बकैया गाउँपालिकाको केही स्थानलाई अतिसंवेदनशीलमा राखिएको छ । जिल्लामा ३ सय ५९ वटा निर्वाचन केन्द्र रहेका छन् ।

‘विगतको निर्वाचनको समिक्षासहित सञ्चार र यातायातको पहुँचको आधारमा निर्वाचन स्थललाई विभाजन गरेका प्रजिअ पाण्डेले बताए । गत हप्ताबाटै निर्वाचन स्थल र केन्द्रका लागि आवश्यक पर्ने सुरक्षा रणनीति तय गरिएको उनले बताए । संघीय सरकारले स्थानीय तहको निर्वाचनको एकीकृत सुरक्षा नीति पास गरिसकेका कारण काम गर्न थप सहज भएको उनले बताए ।

‘मतदान स्थलको संवेदनशीलताका आधारमा विशेष सुरुक्षा योजना बनाएर लागू गरिएको छ । प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार अतिशंवेदनशील मानिएका केन्द्रमा अनुभवी सुरक्षाकर्मी तथा कर्मचारीहरु खटाइएको छ । “सुरक्षाको लागि आवश्यक सबै तयारी हामीले गरेका छौ, मतदातालाई कुनै समस्या हुने छैन” श्रेष्ठले भने ।

उनले निर्वाचनलाई मध्यनजर गरेर राजनीतिक दलसँग पनि निरन्तर संवाद र छलफल गरिरहेको बताए । ‘निर्वाचन कार्यालयले प्राविधिक तयारी गरिरहेको छ । हामीले सुरक्षा र अन्य तयारी गरिरहेका छौं । राजनीतिक दललाई पनि संवेदनशील भएर कार्यक्रम आयोजना गर्न हामीले भनेका छौं ।’, उनले भने । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दलहरुले पनि आफ्नो गतिविधिलाई तीव्रता दिएका छन् ।


Author

थप समाचार
x