राजनीति

मंगलबारदेखि अन्तर्राष्ट्रिय नाका बन्द, मदिरा बेच्‍न पनि कडाइ

इकागज |
बैशाख २३, २०७९ शुक्रवार ८:१४ बजे

फाइल तस्बिर

काठमाडौँ - आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी तीन दिन अन्तर्राष्‍ट्रिय सीमा नाका बन्द हुने भएको छ । बैशाख २७ गते (मंगलबार) राति १२ बजेदेखि अन्तर्राष्‍ट्रिय सीमा नाका बन्द गराउने प्रबन्ध मिलाउन  निर्वाचन आयोगले नेपाल सरकारलाई पत्र पठाउने निर्णय गरेको हो ।

स्थानीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा मतदान सम्पन्‍न गराउन सीमा नाका बन्द गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । मतदानको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात सेवा बन्द गर्नसमेत सरकारलाई आग्रह गरेको छ  ।


आयोगले ४८ घन्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्‍ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्नसमेत सरकारलाई पत्र लेखी पठाएको छ ।

यसैगरी, स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ मा उल्लेख भए बमोजिम मात्र मादक पदार्थ निषेध तथा बिक्री वितरण गर्न दिने भएको छ ।

वैशाख २७ गते राति १२ बजेदेखि मतदानको कार्य सम्पन्‍न नभएसम्म तोकिएको क्षेत्रमा मात्र मादक पदार्थको बिक्री वितरण गर्न दिने र सेवनमा कडाइ गर्न पनि गृह मन्त्रालयलाई आयोगले पत्र पठाइसकेको छ ।

 

*सीमा बन्द हुनुपर्नेमा उडान बन्द भन्ने त्रुटीपूर्ण शब्द पर्न गएकाेमा हामी क्षमाप्राथी छाैँ । -सम्पादक


Author

थप समाचार
x