कोशी

निजी क्षेत्रलाई भन्‍न चाहन्छु, आउने समय कठिन छ, जिम्मेवारी बनौँ : गोल्छा

बाबुराम भण्डारी |
असार १६, २०७९ बिहीबार २१:२५ बजे

विराटनगर- नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक अवस्था निकै गम्भीर संकटतर्फ गइरहेको संकेत गर्दै निजी क्षेत्रसमेत सचेत बन्नुपर्ने बताएका छन् । उनले आगामी दिन कठिन बन्दै गएकोले निजी क्षेत्र पनि जिम्मेबार बन्‍नुपर्ने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ को चौथो प्रदेश साधारणसभालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष गोल्छाले अर्थतन्त्रको वर्तमान अवस्थाले सुखद् संकेत नगरेको दाबी गरे । उनले अहिले निजी क्षेत्रसमेत जिम्मेवार नबने सबैका लागि कठिन अवस्था आउनसक्ने चेतावनी दिए । उनले भन्‍न खोजेको त्यस्तो संकटलाई ‘स्ट्याग पुलेशन’ को संज्ञा दिए ।


‘मैले नेपालको निजी क्षेत्रलाई के भन्न चाहन्छु भने आउने समय कठिन छ, हामी राष्ट्रप्रति जिम्मेवार भएर निजी क्षेत्रको संरक्षण गर्न जरुरी छ, सवैको लागि बडा कठिन छ, चुनौतीपूर्ण रहेको छ, हामीले देखेका छौं हाम्रो छिमेकी मुलुकहरूमा के भएको छ भनेर, म नाउँ लिन चाहन्छ किनभने यसले निराश लिएर आउन सक्छ, हामी यो समय राज्यसँग मिलेर सुझबुझका साथ आफ्नो सुझाव दिन जरूरी छ,’ उनले भने, ‘अर्थतन्त्रको समस्या समाधान गर्न हामीले प्रतिस्थापन बजेटदेखि नै सरकारलाई सुझाव दिँदै आएका छौं, निजी क्षेत्र जिम्मेवार ढंगले उभिएको छ, अर्थ विज्ञहरुसँग सुझाव लिएर अरु देशमा के भइरहेको छ त्यसको अध्ययनसहित हामीले सल्लाह दिइरहेका छौं ।’

अध्यक्ष गोल्छाले बैंकमा तरलताको समस्या थपिँदै गएको, साना तथा मझौला लगानीकर्ताले लगानी गरेको स्टक मार्केटमा निराशा बढिरहेको, वस्तुको मूल्य होलसेलमै २५ प्रतिशतले बढेको र मुलुकको सोधानान्तर स्थिति कमजोर बन्दै गएकोले त्यसलाई ‘स्ट्याग पुलेशन’ को संज्ञा दिए । जुन कुरा अर्थतन्त्रका लागि निकै ठूलो र कठिन समय साबित हुनसक्ने तर्फ सावधान गराए ।

गोल्छाले तरलता अभावले कसैले पनि बैंकबाट कर्जा पाउन नसकेको बताए । जसले अर्थतन्त्र संकुचनमा गइसकेको र यस्तो अवस्थाबाट पार पाउन सजिलो पनि नभएको बताए । त्यसका लागि मौद्रिक नीतिमार्फत कठिन निर्णय गर्नुपर्ने दिन आइरहेको संकेत गरे । ‘मुद्रा स्फीति हाम्रो यसपालिको बजेटले ६ देखि ७ प्रतिशसम्म राख्‍ने कुरा गरेको छ, अहिले होलसेल प्राइस इन्डेक्समा २५ प्रतिशतले वृद्धि भइसकेको छ, रिटेल वृद्धिको कुरा आएकै छैन, यसले एउटा आम उपभोक्ताका लागि कति कठिन समय आउँदैछ भन्ने देखाउँछ,’ उनले भने, ‘यसकारण हामी उद्योगी व्यवसायीहरुले बढी नाफा गरेर केही हुँदैन, यो समस्या बाहिरी समस्या छ किनभने हामीले आयात गर्नुपर्ने छ ।’ 

उनले पेट्रोल, खानेतेलदेखि खाद्यान्न सबै आयात गर्नुपर्ने बाध्यता रहेकोले ‘स्ट्याग पुलेसन’ को जोखिम बढाएको दाबी गरे । बजारमा मूल्यवृद्धि पनि हुने र सामग्रीको माग पनि घट्ने अवस्थालाई उनले ‘स्ट्याग पुलेसन’ को संकेतका रुपमा बुझ्न आग्रह गरे । ‘यो कुरा अर्थतन्त्र समस्या आउँदैछ भन्ने ठूलो संकेत हो, अहिले हाम्रो अर्थतन्त्र त्यतै गइरहेको छ, अहिले हामीसँग ५० हजार डिम्याट एकाउन्ट छन्, जहाँ साना मझौला लगानीकर्ताले विश्वास गरेर आफ्नो भविष्य खोजेका छन् तर उनीहरु निराश भएका छन्,’ अध्यक्ष गोल्छाले भने, ‘आफ्नो जीवनको कमाई थियो, उनीहरुले गुमाएका छन्, यस्तो अवस्थामा क्यापिटल मार्केटलाई कसरी जिम्मेवार ढंगले अगाडि बढाउन सकिन्छ, यो समस्या ठूलो छ, नीति निर्माताले भनिदिनु पर्नेछ ।’ 

त्यसका साथै मुलुकको सोधानान्तर स्थिति समेत गम्भीर अवस्थामा रहेको उनले बताए । यदि सोधानान्तर स्थिति ‘नेगेटिभ’ अवस्थामा गए बजार धान्‍न नसकिने बताए । उनले थपे, ‘त्यतिबेला हामीसँग पेट्रोल छोडौं, औषधी किन्‍न पनि पैसा हुँदैन, छिमेकी मुलुकको जस्तो स्थिति हुनसक्छ, यो समस्याको पूर्व संकेतको रूपमा राखेर हामीले काम गर्नुपर्छ ।’ 

निजी क्षेत्रलाई मल किन्‍न दिनुस्
महासंघ अध्यक्ष गोल्छाले साधारण किसान समेत पीडामा परेको बताए । उनले आवश्यक मात्रामा मल नहुँदा उत्पादनमा असर पर्ने दाबी गरे । सरकारले मल ल्याउनका लागि गरेका प्रयासहरू असफल भएकोले निजी क्षेत्रलाई मौका दिन उनले आग्रह गरे । मल आयातमा निजी क्षेत्रले प्रवेश पाए मल आयात हुनसक्ने उनले बताए ।

‘हामी भनिरहेको छौं निजी क्षेत्रलाई मल किन्न दिनुस्, ‘सब्सिडिटी’ दिनुस्, निजी क्षेत्रले त्यसलाई न चाइना पठाउन सक्छ, न इण्डिया पठाउन सक्छ,’ उनले भने, ‘हामीले मल आयातमा कुनैपनि तरिकाले विश्वास दिलाउन चाहेका छौं, सरकारले हरेक वर्ष हरेक हिसाबले मल ल्याउने प्रयास गर्यो तर ल्याउन सकेन, अब निजी क्षेत्रलाई मौका दिउँ, निजी क्षेत्रले मल आयात गर्छ भने पक्कै पनि यो समस्या समाधान हुन्छ ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x