कोशी

चरनमा छाडिएको हल गोरु खुट्टा काटिएको अवस्थामा फेला

इकागज |
माघ २४, २०७९ मंगलबार ७:४६ बजे

खोटाङ- खोटाङमा अज्ञात व्यक्तिले चरनमा छाडिएका हल गोरुको खुट्टा काटिदिएका छन् । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे फोक्सिङटारका सुर्य माझीको हल गोरुको खुट्टा काटिएको हो । धारिलो हतियार प्रयोग गरेर खुट्टा काटिएका गोरु हिँड्न नसक्ने अवस्थामा फेला परेको स्थानीय कर्णसेर राईले बताए ।

माझीले चरनका लागि हल गोरु छाडेका थिए । पहाडी क्षेत्रमा हिँउदको समयमा गाईवस्तु चरिचरनका लागि खुला छाड्ने प्रचलन छ । तर माझीले चरनमा छाडेको गोरु खुट्टाका विभिन्न ठाउँमा काटिएको घाइते अवस्थामा फेला परेको हो ।


हिउँदे तरकारी बाली खाइदिएपछि स्थानीयले गोरुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाएको अनुमान गरिएको छ । गोरुको खुट्टा काटेर घाइते बनाइदिएको जानकारी आएपछि घट्नास्थलमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । घटनाको विषयमा अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x