कोशी

जेठ १४ मा बजेट अधिवेशन बोलाउने कोशी प्रदेश सरकारको निर्णय

इकागज |
जेठ ८, २०८० सोमबार २०:२७ बजे

विराटनगर- कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गतेका लागि आह्वान गर्ने निर्णय गरेको छ ।

प्रदेश प्रमुख परशुराम खापुङलाई बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय सोमबार नै जानकारीका लागि पठाइसकेको कोशी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।


प्रदेश प्रमुख खापुङले प्रदेश अधिवेशन आह्वान गरेको जानकारी कोशी प्रदेशको प्रदेश सभालाई जानकारी गराएपछि प्रदेश अधिवेशन सुरु हुनेछ । अधिवेशनले पूर्व बजेट छलफल प्रारम्भ भई सरकारको नीति तथा कार्यक्रम पेस हुने छ । त्यस्तै बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेट सरकारले पेस गर्ने छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा ऐन (पहिलो संशाेधन) अध्यादेश २०८० लाई प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ । त्यस्तै स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई पनि प्रदेश सभामा पेस गर्ने निर्णय गरेको प्रवक्ता सिटौलाले बताए ।

दुवै अध्यादेश गत बैठक १४ गते कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख खापुङले जारी गरेका थिए ।
 


Author

थप समाचार
x