कोशी

आजदेखि कोशी प्रदेश सभाको बजेट अधिवेशन, शून्य समय पनि दिइने

इकागज |
जेठ १४, २०८० आइतबार ६:५२ बजे

विराटनगर । कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठक आज बस्दैछ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच पहिलो बैठकमा समेत शून्य समय छुट्याउने सहमति भएको छ । 

प्रदेश सरकारको सिफारिसमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले जेठ १४ गते आइतबार दिनको २ बजेका लागि बजेट अधिवेशन आह्वान गरेका थिए । शनिबार बसेको प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज (आइतबार) को बैठकको प्रारम्भिक कार्यसूचीमाथि छलफल गर्दै पहिलो बैठकलाई सूचारु गर्ने निर्णय गरेको हो ।


दोस्रो अधिवेशनको सुरुवातमा सामान्यतया बैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाउने र दलहरुले आफ्नो मन्तव्य दिने विगतको परम्परा रहेतापनि यसपटक पहिलो बैठकमै प्रदेश सभा सदस्यहरुलाई बोल्नका लागि शून्य समय दिइने निर्णय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिए ।

आजको बैठकमा शून्य समयपछि प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको बैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, अघिल्लो प्रदेश अधिवेशनमा छलफल भएर पारित हुन बाँकी रहेको प्रदेश ऐनमा प्रदेशको नाम संसोधन गर्न वनेको विधेयक २०७९ निर्णयार्थ पेश हुने जनाइएको छ ।

त्यसैगरी स्थानीय सेवा (गठन तथा संचालन) अध्यादेश २०८० र प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संसोधन) अध्यादेश २०८० लाई प्रदेश सभामा पेश गर्ने र प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका तर्फबाट अन्तिममा मन्तव्य राख्ने कार्यसूचीमा सहमति भइसकेको प्रदेश सभा सचिवालयले जनाएको छ ।


Author

थप समाचार
x