कोशी

कोशी सरकारमा सहभागी माओवादीका दुई मन्त्रीहरूले बुझाए राजीनामा

इकागज |
जेठ २३, २०८० मंगलबार १८:७ बजे

विराटनगर- दलले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार छाडेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन् । उनीहरूले मुख्यमन्त्री कार्यालयमा पुगेर आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

एमाले नेतृत्वको वर्तमान सरकारमा माओवादी केन्द्रबाट दुर्गाप्रसाद चापागाँई भौतिक पूर्वाधार विकास मन्त्री र जीवन आचार्य पर्यटन, वन तथा वातावरणमन्त्री रहेका थिए । उनीहरूले मुख्यमन्त्री कार्कीलाई कार्यकक्षमै भेटेर राजीनामा बुझाएका हुन् ।


मन्त्री चापागाँईले कार्की नेतृत्वको सरकारमा १४५ दिनको सहकार्यपछि पार्टीको निर्देशन अनुसार राजीनामा दिनु परेको सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । मन्त्री आचार्यले बदलिएको राजनीतिक परिस्थितिका कारण पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् । 

एमाले नेतृत्वको सरकारमा सहभागी हुने क्रममा माओवादी केन्द्रभित्र शक्ति संघर्ष गरिरहेका चापागाँई र आचार्य मुख्यमन्त्री कार्कीको पहिलो सरकार विस्तारमा अट्न सकेका थिएनन् । मुख्यमन्त्री कार्कीले २०७९ पुस २५ गते पद तथा गोपनीयताको शपथ लिँदै पहिलो सरकार गठन गर्दा शक्ति संघर्षकै कोपभाजनमा परेका थिए ।
माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले तत्कालीन सरकार आफ्नै नेतृत्वमा बन्नुपर्ने अडान नछाडेका कारण २०७९ पुस २५ मा मुख्यमन्त्री कार्कीको पहिलो सरकारमा अटाउन नसकेका चापागाँई र आचार्यले पुस २९ मा मात्रै मन्त्रीको शपथ लिएका थिए ।

मन्त्रीहरूको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री कार्कीले सरकारमा रहँदा दुवै मन्त्रीबाट सहयोग प्राप्त भएको बताए । ‘मेराे राजनीतिक जीवनलाई ठूलो शिक्षा दिएको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘सँगै रहेर काम गर्दा तपाँईहरूले ठूलो सहयोग पुर्याउनु भयो र आगामी दिनमा पनि पुनः सहयोगको अपेक्षा गरेको छु र तपाईँहरूको उज्जवल राजनीतिक भविष्यको कामना गर्दछु ।’

मुख्यमन्त्री कार्कीले सबै राजनीतिक दलहरूसँग खुल्ला रूपमा छलफल गरेर अघि बढ्ने र दलहरूले विश्वास गरेमा पुनः सरकारको नेतृत्व गर्ने पनि बताए । उनले संवैधानिक र कानुनी प्रक्रिया पूरा गरेरै आगामी बजेट ल्याउने जानकारी दिए ।


Author

थप समाचार
x