कोशी

कोशीमा विश्वासको मत माग्दै एमाले कांग्रेसको दैलोमा

मुख्यमन्त्री कार्की भन्छन् : जुनसुकै दलले समर्थन गर्दा बहुमत पुग्छ

बाबुराम भण्डारी |
असार १३, २०८० बुधबार १८:५१ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार प्रदेश सभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि बस्न लागेको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री कार्कीसँग ४६ सांसदको समर्थन सुनिश्चित देखिन्छ ।

कोशी प्रदेश सभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ सहित कार्की नेतृत्वको सरकार छ । ९३ सदस्यीय कोशी प्रदेश सभाबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्न ४७ जनाको समर्थन जुटाउनु पर्नेछ । प्रदेश सभामा एक सिट रहेको जसपादेखि सबैभन्दा ठूलो दल एमालेसँग ४० सिट रहेको छ ।


प्रदेशमा स्थायित्वको आवश्यकता रहेको भन्दै एमालेले २९ सिट रहेको दोस्रो दल नेपाली कांग्रेससँगको सम्वादलाई बढि स्थान दिइरहेको छ । आफू नेतृत्वको सरकारलाई सुरक्षित बहुमत दिलाउन कांग्रेससहित सबै दलसँग विश्वासको मत माग्ने निर्णय भएको संसदीयको बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए ।

उनले दलको बैठकमा विश्वासको मत लिने प्रयोजनमा छलफल हुँदा सत्ता साझेदार राप्रपा एमालेसँगै रहेको र कांग्रेसँग थप सम्वाद अघि बढाउने विषयमा कुराकानी भएको जानकारी दिए । प्रमुख सचेतक भण्डारीले प्रदेश सभामा रहेको अंकगणितले सबै दललाई मिलेर अघि बढ्न सन्देश दिएको भन्दै एमालेले मुख्यतया नेपाली कांग्रेससहित सबै दलसँग विश्वासको मतका लागि आग्रह गर्ने निर्णय गरेको बताए ।

‘विश्वासको मत लिने सन्दर्भमा बैठकमा छलफल भयो, कुनै दलहरूले निर्णय गरेर नै विश्वासको मत दिने सम्भावनाको बारेमा पनि जानकारी भयो,’ प्रमुख सचेतक भण्डारीले भने, ‘अहिलेसम्म राप्रपा हामीसँग रहेको कुरामा निष्कर्षमा रह्यौं, कांग्रेसले गणितीय हिसाब भएकोले सोच्न सकिने विषय भएको भन्नु भएको छ, पूरै आश्वासन दिनु भएको छैन, तर ‘नो’ भनेर विमति पनि जनाउनु भएको छैन, हामीहरूबीच कुरा भएको छ ।’

उनले कोशी प्रदेश सरकारको स्थायित्वका लागि कांग्रेससँग प्रदेश लेभलमा पनि कुरा भएको र केन्द्रीय लेभलमा पनि कुरा भएको दाबी गरे । सरकारको स्थायित्वका लागि एमाले नेतृत्वको सरकारलाई नै विश्वास मत दिन आह्वान गर्ने निर्णय गरेको बताए । साथै बैठकले बिहीबार दिउँसो १ बजे प्रदेश सभाको बैठक अगावै संसदीय दलका सबै सदस्यहरूलाई दलको कार्यालयमा उपस्थित हुन आग्रह गर्ने निर्णय भएको पनि प्रमुख सचेतक भण्डारीले जानकारी दिए । 

जुनसुकै दलले समर्थन गर्दा बहुमत : मुख्यमन्त्री

यता मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबारसम्म आफूले विश्वासको मत लिनुपर्ने समयावधि ३० दिन पुग्ने जानकारी दिँदै बिहीबारको बैठकमै विश्वासको मत लिने प्रयोजनमा प्रदेश सभामा सूचना दर्ता गरेको जानकारी दिए ।  

उनले अहिलेसम्म एमाले र राप्रपा एक ठाउँमा रहेको दाबी गरे । प्रदेश सभामा बाँकी रहेका कुनै पनि दलले समर्थन गर्दा आफूले विश्वासको मत प्राप्त गर्ने बताए ।
‘एमाले र राप्रपा हामी ४६ जना एक ठाउँमा छौं, हाम्रो पार्लियामेन्टमा एक सिटदेखि ४० सिटसम्म भएका ६ वटा दलहरू छौं, कुनै पनि दलले समर्थन गर्दा त पुगिहाल्छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘मैले सबै दलको नेताहरूलाई भनेको छु, कसैले नाई भन्नु भएको छैन र मैले अहिलेसम्म गरेका कार्यसम्पादनका आधारमा मत दिनुहुन्छ भन्ने विश्वास छ ।’ 

उनले भावी सरकारको विषयलाई लिएर अहिले सरकार बाहिर रहेका कुनै पनि दलहरू एक ठाउँमा नरहेको दाबी गरे । सत्ता बाहिरका दलहरूले विश्वासको मत दिने नदिने विषयमा निर्णय गरिनसकेको पनि बताए ।

‘वहाँहरू ४७ जना नै बस्नु भएको छैन, एउटा छलफलमा एउटा दल नै देखेको छैन मैले’ उनले भने, ‘निर्णय गरेको भनेको एमाले र राप्रपाले मात्रै हो, अरुको भोलिसम्म आउँदा थाहा हुन्छ, कुनै एउटाले मत दिन्छु भन्नुभयो भने सक्किहाल्छ, पुग्दैन भन्ने केही छ र ? ग्यारेन्टी केही छ र ? मैले त्यसका लागि भोलि १ बजेसम्म पर्खिएको छु ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x