कोशी

कांग्रेसलाई मुख्यमन्त्रीको हाक्काहाक्की चेतावनी

‘अब मैले मात्रै उदार बनेर हुँदैन, एकतिहाई सदस्य भएको दललाई बायस गरेर कुनै गठबन्धन टिक्दैन’

बाबुराम भण्डारी |
असार १५, २०८० शुक्रबार १७:५० बजे

विराटनगर- नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकारको सहकार्यबारे केन्द्रीय राजनीतिमा उपस्थिति जनाएका गाँईगुँई हल्लापछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि विश्वासको मतका लागि कांग्रेसको सकारात्मक संकेतको लामो प्रतीक्षा गरे । उनले विश्वासको मत लिनुअघि बिहीबार औपचारिक रूपमा पत्र नै पठाएर कांग्रेससँग सहकार्यबारे बाटो खोल्ने प्रयास गरे ।

कांग्रेससँगको सहकार्य चटक्कै त्यागेर बालकोटको बार्दलीबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पद प्राप्तिको संकेत स्वरूप हात हल्लाएका थिए । त्यसपछि मधेस प्रदेशमा जनता समाजवादीलाई नेतृत्व छाडेर एमाले र माओवादीले बाँकी ६ वटा प्रदेशमा मुख्यमन्त्रीदेखि सभामुख र उपसभामुख समेत बण्डा गरे ।


राष्ट्रपतिको निर्वाचनसँगै एमालेमाथि नयाँ संकट मडारियो । लगत्तै फेरिएको केन्द्रीय सत्ता समीकरणको भुमरीमा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकार गुमाउनु परेको एमालेलाई कोशीमा टिकिराख्न भने यहाँको प्रदेश सभाको अंकगणित सहयोगी बनेको थियो । किनभने फेरिएको केन्द्रीय गठबन्धनबाट नेकपा माओवादी केन्द्र र जनता समाजवादी तत्कालै फिर्ता हुने अवस्था थिएन । मुख्यमन्त्रीका तीब्र आकांक्षी माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र मुख्यमन्त्री कार्की आलोपालोमा सरकार नेतृत्व गर्ने विषयमा केन्द्रीय नेतृत्वकै इसारा अनुसार सहमत हुँदै जान तयार थिए । मुख्यतया माओवादी र त्यसपछिको दल राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की २०७९ पुस २४ मा प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री नियुक्त भए ।

एमालेको ४०, माओवादीको १३, राप्रपाका ६ र जनता समाजवादीको १ सहित सुविधाजनक ६० सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । सरकारले १०० दिन पूरा गरेको बेलामा मुख्यमन्त्री कार्कीले दलीय ढाडसकै लागि भए पनि वैशाख ५ गते कोशी प्रदेशमा सर्वदलीय सहमतीय सरकारको सम्भावनाबारे पहिलो धारणा सार्वजनिक गरे ।

यसको दुईवटा कारण हुनसक्थ्यो, पहिलो– उनले केन्द्रीय गठबन्धनले प्रदेशमा पनि पार्नसक्ने असरबारे सावधानी अपनाउनु पर्ने अवस्था थियो । दोस्रो– आफू नेतृत्वको सरकार जुनसुकै बेला अल्पमतमा पर्दा कांग्रेस र नेकपा एससँगको अंकगणितीय सत्ता सहयात्राको सम्भावना बाँकी नै रहन सक्छ भन्ने नै हो ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणदेखि संघीय संसदमा चलेको बजेट बहसले सत्ता साझेदार माओवादी र कांग्रेसबीचको आन्तरिक सम्बन्ध चिसिँदै जानसक्ने अवस्थाप्रति सचेत रहेका मुख्यमन्त्री कार्कीले कोशीमा सरकार जोगाउन कांग्रेसलाई ‘ढोक्सा’ मा पार्ने दाउमै केन्द्रित देखिन्थे । 

तर, यी सबै मामलामा कोशी प्रदेशमा कांग्रेसभित्रको आन्तरिक गुटबन्दीको परिणाम मत एकताको अवस्थाका लागि सम्भावना सकारात्मक बाटोमा थिएन । अर्कोतिर, संघीय संसदमा एमालेको चर्को पेलानमा पर्न थालेपछि प्रधानमन्त्री दाहालको ठाडो आदेशमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पनि माओवादीको समर्थन गुमाए ।
आफू कतैबाट पनि सुरक्षित नहुने अवस्थामा मुख्यमन्त्री कार्की कांग्रेस संसदीय दलका नेता उद्धव थापासँग निकटता बढाउन चाहन्थे । उनले उद्घोष गरेको सहमतिको सरकारभित्र कांग्रेसको प्रवेश चाहन्थे । तर, आन्तरिक विवादकै बीच कांग्रेस टसमस हुने अवस्थामा देखिएन । 

कांग्रेसले भाउ नदिएको झोकमा मुख्यमन्त्री कार्कीले शुक्रबार प्रदेश सभामा लामै असन्तुष्टि पाखे । उनले सरकार गठनलगत्तै पनि विश्वासको मत माग्दै गर्दा कांग्रेससँग समेत मत मागेका थिए । तर, कांग्रेसले वास्ता गर्न नचाहेपछि उनले प्रदेश सभामा आफूमात्रै कांग्रेसप्रति उदार बन्दै जान नसक्ने कुरा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नामै तोकेर भने । आफू अहिले पनि सर्वदलीय सरकारको पक्षमा रहेको भन्दै कांग्रेसप्रति उदारता देखाउने प्रयास गरे । 

‘म अहिले पनि सर्वपक्षीय सरकार गठनको पक्षमा छु, मेरा प्रयासहरू यसका लागि निरन्तर अघि बढ्नेछन्, ५ वर्षअघि बहुमत प्राप्त गर्दा पनि धेरै सिक्न बाँकी छ भनेर सँगै मिलेर जाउँ भनेको थिएँ, त्यतिबेला कांग्रेसका नेता राजीव कोइरालासित सँगै मिलेर जाउँ अर्को सम्भावना छैन भन्दा पनि कुरा कार्यान्वयन भएनन्,’ मुख्यमन्त्री कार्कीले भने, ‘मैले मात्रै उदार बनेर लहै साथी हो, जे जे भयो हामी तपाईँहरूका पछि पछि नै छौं भनिरहनु पर्ने ? कतिको उचित हुन्छ तपाईँहरूको ठाउँबाट सोच्न नेपाली कांग्रेस दललाई आग्रह गर्दछु ।’ 

आफूले कुनै पनि दललाई आग्रह पूर्वाग्रह राखेर व्यवहार नगरेको दाबी गरे । एमालेलाई चैं विश्वासको मत नै दिन हुँदैन भन्ने कांग्रेसको बुझाई हो भने त्यसलाई भविष्यमा गलत पुष्टि गराइदिने पनि उनले बताए ।

‘एमालेलाई चाहीँ विश्वासको मतै दिन नहुने भन्ने त उचित नहोला नि, मैले पनि सहयोग त गरेको छु, मन्त्रालयको काम गरेको छु, अनि तपाईँहरूले पनि एसो पैँचो लाइरहँदा हुँदैन र ? पैँचो लगाउने चलन हुन्छ त,’ मुख्यमन्त्री कार्कीले थपे, ‘म आदरणीय दलका नेता उद्धव थापालाई आग्रह गर्न चाहन्छु, सम्बन्ध दोहोरै हुनुपर्छ, नेकपा एमाले पनि मुलुकको जनताले पत्याएको पार्टी हो, जनताले रुचाएको पार्टी हो । सिट संख्या तलमाथि होला तर जनमतमा कमी छैनौं ।’

उनले बरु सर्वदलीय सरकार बन्दा आफ्नो पार्टीले कम अवसर पाउनसक्ने चिन्ता व्यक्त गरे । सरकार गठन भएको ६ महिनामात्रै पुग्न लागेको भन्दै सबैसँग मिलेर जान एमाले तयार रहेको बताएका थिए । मुख्यमन्त्री कार्कीले सबै मिलेर एमालेलाई एकल्याउने प्रयास कोशी प्रदेशमा असम्भव हुने जिकिर पनि गरे । 

माओवादीको व्यवहारप्रति कटाक्ष र कांग्रेसलाई चेतावनीस्वरूप मुख्यमन्त्री कार्कीले भने, ‘ढोका थुनेर कुट्ने वा कुट्न खोज्ने, बाहिर निस्किन नदिने, बजेट ल्याउने बेलामा– नीति कार्यक्रम ल्याउने बेलामा आग्लो हाल्ने, विश्वासको मत झिक्ने, अप्ठेरो पार्ने अनि संवैधानिक धाराको प्रयोग गर्यो भने चोर बाटो भन्ने प्रवृत्तिको नेतृत्व पनि भइरहेको छ, यस्तो पाराले निकास निस्किँदैन, भोलिका लागि पनि म सचेत गराउन चाहन्छु ।’

तर, मुख्यमन्त्री कार्कीले कांग्रेसलाई फकाउन जस्तोसुकै भाषा प्रयोग गरे पनि कांग्रेसले भने उनलाई विश्वासको मत दिन तत्काललाई रुचीकर ठानेन । प्रदेश सभामा विश्वासको मत प्राप्तिका लागि मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावमाथि मत विभाजन हुँदा मुख्यमन्त्री कार्कीले एमालेको ४० र राप्रपाको ६ सहित ४६ सांसदको मतमात्रै प्राप्त गरे । उनले सरकार जोगाउन आवश्यक पर्ने थप एक मत समेत अरु दलबाट जुटाउन असमर्थ बने ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x