कोशी

कोशीमा कांग्रेस नेतृत्वको सरकारका लागि काठमाडौँमा दौडधुप

प्रदेश पदाधिकारीले भेटे शेखर र देउवालाई

बाबुराम भण्डारी |
असार १८, २०८० सोमबार १५:५ बजे

विराटनगर- नयाँ सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुखबाट आह्वान समेत भइसकेको अवस्थामा कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार गठनका लागि काठमाडौँ केन्द्रित लविङ तीव्र भइरहेकाे छ ।

कांग्रेस प्रदेश समितिका पदाधिकारीहरूले आइतबारमात्रै काठमाडौँमै बैठक बसेर पार्टीका शीर्षस्थ नेताहरूसँग लविङ गरिरहेका छन् । उनीहरूले सोमबार बिहानमात्रै पार्टी सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालासँग छुट्टाछुट्टै भेटेर कोशीमा कांग्रेस नेतृत्वको सरकार बन्नसक्ने आधारहरूबारे जानकारी गराएका हुन् ।


कांग्रेस प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीले पार्टीका शीर्ष नेताहरूसँग प्रदेश समितिका पदाधिकारीहरूले भेटेर पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराएको बताए । उनले कोशी प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार गठनका लागि पहल गर्न पार्टी शीर्ष नेताहरूलाई आग्रह गरेको जानकारी दिए । 

‘प्रदेश पदाधिकारीले बैठकले निर्णय गरे अनुसार नै हामीले पार्टीका शीर्ष नेताहरूलाई भेटेर सबै परिस्थितिको जानकारी गराएका छौं,’ उनले भने, ‘कोशी प्रदेशमा विगतमा पनि कांग्रेसले सरकारको नेतृत्व गर्न नपाएको कुरा पनि भनेका छौं, यस पटक कुनै पनि हालतमा कोशीमा डेमोक्रेटको सरकार बन्नुपर्छ भन्नेमा शीर्ष नेताहरू पनि सकारात्मक देखिनु भएको छ ।’

उनले कोशी प्रदेश कांग्रेसको महत्वपूर्ण राजनीतिक भूमि भएकोले समेत सरकारको नेतृत्व नछाड्ने गरी शीर्ष नेताहरूले गठबन्धन दलका नेताहरूसँग कुरा गर्ने आश्वासन दिएको कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक तथा प्रदेश समितिका महामन्त्री भुपेन्द्र राईले जानकारी दिए । उनले नेताहरूको आश्वासनले आफूहरू निकै उत्साहित पनि भएको बताए ।

‘पार्टी सभापति र डाक्टर साबले पनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिनु भएको छ, कांग्रेसकै नेतृत्वमा सरकार बनाउनु पर्छ भन्ने कुरा गर्नु भएको छ,’ राईले भने, ‘अस्ति केही दिन पहिलेसम्म हुँदैन कि भन्ने पनि थियो, तर पछिल्लो भेटघाटमा नेताहरूको भूमिकाले निकै सकारात्मक परिणाम आउने विश्वास लागेको छ ।’

कांग्रेस प्रदेश समितिका कोषाध्यक्ष राजेश गुप्ताले दुवै नेताहरूसँगको भेटका क्रममा कोशीमा कांग्रेसका संसदीय दलका नेता उद्धव थापाकै नेतृत्वमा नयाँ सरकार बनाउने विषयमा सकारात्मक कुराकानी भएको जानकारी दिए ।

‘कांग्रेसको नेतृत्वभन्दा अरु दायाँबायाँ केही हुन्न भन्नु भएको छ,’ गुप्ताले भने, ‘गठबन्धन दलका शीर्ष नेताहरूसहित कोशी प्रदेश सभामा प्रतिनिधित्व गरिरहेका अन्य दलहरूसँग समेत कुराहरू हुनसक्ने समेत सम्भावना वहाँहरूले व्यक्त गर्नु भएको छ ।’

प्रदेश सभा निर्वाचनपछि एमाले नेतृत्वमा बनेको मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको पहिलो सरकारले विश्वासको मत प्राप्त गर्न नसक्दा नयाँ सरकार गठनको प्रक्रिया अघि बढिसकेको छ । प्रदेश प्रमुख प्रमुख परशुराम खापुङ्गले आइतबारदेखि पाँच दिनको समय दिएर दलहरूलाई धारा १६८ को उपधारा (२) बमोजिमकै सरकार गठन गर्न आह्वान गरिसकेका छन् ।

९३ सदस्यीय कोशी प्रदेश सभामा नेपाली कांग्रेसबाट निर्वाचित २९ सांसद रहेका छन् । प्रदेश सभामा १६८ को (२) अनुसारको सरकार गठन गर्न आवश्यक पर्ने न्यूनतम् बहुमत संख्या ४७ हो । प्रदेशको वर्तमान विपक्षी गठबन्धनमा माओवादी केन्द्रबाट सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका ४ सांसद रहेका छन् । एक सिट रहेको जनता समाजवादीले भने पहिचानको मुद्दामा लिखित प्रतिबद्धता नआउञ्जेल कुनै पनि दललाई सरकार निर्माणमा समर्थन नगर्ने विज्ञप्तिमार्फत घोषणा गरिसकेको छ ।

जसपाले समर्थन गरेको खण्डमा मात्रै अहिलेको विपक्षी गठबन्धनमा सभामुखसहित मात्रै ४७ पुग्नेछ । तर, नेकपा एमालेले भने सभामुख पदलाई सरकार निर्माण वा सरकार ढाल्ने प्रक्रियामा सहभागी गराउन नहुने बताउँदै आएको छ । कानुनविद्हरूले समेत सरकार गठनको प्रक्रियामा सभामुखको संलग्नता संविधानको मर्मविपरीत हुने बताउँदै आएका छन् ।

कोशी प्रदेशमा अहिलेको सत्ता गठबन्धनमा नेकपा एमालेबाट उपसभामुखसहित ४० र राप्रपाका ६ सांसद गरी ४६ सिट यथावत् देखिन्छ । राप्रपाले भने तत्कालै सरकारमा गइहाल्नका लागि हतारो नभएको बताउँदै आएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x