कोशी

हर्क साम्पाङले नदेखेको २५ वर्षदेखि ज्यान लिइरहेको बिजुलीको ‍खम्बा

रिकेश विश्वकर्मा |
साउन ८, २०८० सोमबार १२:२७ बजे

सुनसरी- धरान भन्ने बितिकै हर्क साम्पाङको नाम जनजिब्रोमा झुण्डिएको छ । अहिले समाजिक सञ्जालमा कामबाटै नाम कमाएका साम्पाङ हरेक दिन जनताको काममा खटिने गर्छ्न् । कहिले बिरुवा रोप्छ्न्, कहिले खानेपानी पानी ल्याउँछन् ।

उनको कामप्रति धराने जनता मोहित छन् । हुन त उनले गरेको काम सम्मानयोग्य पनि छ । तर धरान-१६ मा भने  एउटा समस्याको समाधान अझै साम्पाङले गर्न सकेका छैनन् । साम्पाङले मात्र होइन्, विगत २५ वर्षदेखिको समस्या अहिलेसम्म जस्ताको जस्तै छ, जसले गर्दा कतिखेर जनताको ज्यान जान्छ थाहा छैन ।


धरान उपमहानगरपालिकाको एउटा सडकको मध्य भागमा बिजुलीको खम्बा ठडिएको छ । वडा नम्बर १६ लेखनाथ चोकस्थित जनपथ सडकको बीचमा ठडिएको हाइटेन्सन लाइनको विद्युत्‌ीय पोलले स्थानीय र सवारी साधनको निम्ति एम्बुस थापेझैँ भएको छ ।

झण्डै २५ वर्ष अघिदेखि ठडिएको उक्त पोलको कारणले नै अहिले पनि दिन बिराएर दुर्घटना हुने गरेको स्थानीय बताउँछन् । उक्त सडकको चौबाटोलाई लेखनाथ चोक भनिन्छ । स्थानीयका अनुसार २५ वर्ष अघिदेखि उक्त पोल उक्त स्थानमा ठडिएको छ । २०५८ सालदेखि कवि शिरोमणि लेखनाथ पौडेलको शालिकसमेत सोही स्थानमा छ । 

शालिक राख्नुभन्दा अगाडिदेखि नै उक्त पोल रहेको स्थानीय राम श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आफूले सानैदेखि त्यहिँ देखेको सडकबीचको पोलले दुर्घटना गराउने सम्भावना बढेको हो । पहिले सवारी साधनको चाप कम हुँदा पनि त्यहाँ सवारी दुर्घटना भएको स्थानीय बताउँछन् । अहिले सवारी साधनको चाप बढेपछि झनै दुर्घटना भइरहेको श्रेष्ठको भनाइ छ । पछिल्ला दिनमा सवारी साधनलाई गुड्न र पैदल यात्रीलाई सडक पार गर्न गाह्रो हुँदा पनि स्थानीय निकायको ध्यान नगएकोमा स्थानीयको गुनासो छ ।

५६ वर्षीय मनबहादुर श्रेष्ठले पनि सडक पार गर्न मुश्किल पर्न थालेको उल्लेख गर्दै भने, ‘उताबाट बाइक र गाडीहरू हुइँकिएर आउँछन् । बीचमा रहेको पोल छल्न खोज्दा हामीलाई हान्ला भन्ने डर सँधै हुने गरेको छ ।’ उक्त स्थानमा सडक पार गर्न लाग्दा केही समयअघि एक जनाको ज्यान गएको थियो । मनबहादुरका अनुसार वडा नम्बर १ का एक वृद्धको गाडीको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको हो । उनका अनुसार उक्त दुर्घटनाको कारण बिजुलीको सोही खम्बा थियो ।

'सम्बन्धित निकायलाई एउटा कुरा देखाएर पन्छाउन सजिलो छ तर स्थानिवासीलाई दिनहुँ हिँड्दा एम्बुस थापेझैँ भएको छ। यो समस्या न त उपमहानगरको नजरमा पर्‍यो न त प्राधिकरणको नै ।  अब के यो समस्या नै समाधान नहुने हो ? यसको जिम्मा कसले लिने ? सम्बन्धित निकायले जिम्मा लिनुपर्छ कि पर्दैन ?' स्थानीय कृष्ण भट्टराईले सम्बन्धित निकायलाई प्रश्न गरेका छन् । साथै उनले अरू कामहरूबाट चर्चा कमाएका प्रतिनिधिहरूलाई एकपटक गएर अवलोकन गरिदिन अनुरोध  गरेका छन् ।

सोही वडाका वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले उक्त विषयमा बोल्दा र गुनासो सुनाउँदा सुनाउँदै थाकेको प्रतिक्रिया दिए । आफूले जनप्रतिनिधि हुनुभन्दा पहिले निवर्तमान नगरप्रमुख, वडाध्यक्ष साथै विद्युत्‌‌ प्राधिकरणका कर्मचारीलाई पटक-पटक उक्त स्थानको संवेदनशीलताबारे बताएको जानकारी गराए । 

तर सबैले झारा टारेको भट्टराइको अनुभव छ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले आफू व्यस्त रहेको बताउँदै भने, ‘धेरै कुरा गर्न समय छैन । सम्बन्धित निकायसँग सल्लाह गरेर समाधान निकाल्नेतर्फ लाग्नेछु ।’

नेपाल विद्युत्‌ प्राधिकरण धरान शाखाका अधिकृत महेश दाहालले उक्त बिजुलीको पोलको समस्या समाधान गर्न खोजिएको बताए । तर प्राविधिक, आर्थिक र लिखतजस्ता विषयले समाधानमा भाँजो हालेको उनको भनाइ छ । हाइ भोल्टेज लाइनको सम्बन्धमा सबै पक्षलाई विचार गर्नुपर्ने उनले बताए ।


Author

थप समाचार
x