कोशी

माओवादी सांसदले भने : देश, अदालत र समयले दु:ख पायो, कोशीमा सहमतिको सरकार बनाऔँ

बाबुराम भण्डारी |
साउन ११, २०८० बिहीबार १८:५९ बजे

विराटनगर- नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्री सहभागी नेपाली कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकारको गठन प्रक्रिया नै असंवैधानिक ठहर भएपछि माओवादी केन्द्रकै सांसदहरूले भने देश, अदालत र समयले दु:ख पाएको टिप्पणी गरेका छन् । केहीले त कोशी प्रदेशको स्थायित्व र विकासका लागि प्रदेश सहमतिको सरकार गठन गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

पार्टी केन्द्रीय सदस्य एवं हिक्मतकुमार कार्की नेतृत्वको अघिल्लो सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाँईले कोशी प्रदेशमा सहमतिको सरकार बन्नुपर्ने बताएका हुन् । दोस्रो पटक कांग्रेसको नेतृत्वमा सरकार गठन हुँदा दोहोरिएर मन्त्री बनाउन नहुने संसदीय दलभित्रको लविङले पछि हटेका चापागाँईले अहिले सहमतिको सरकारमा जोड दिएका छन् ।


चापागाँई मन्त्री हुँदाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि कोशी प्रदेश सभाको अंकगणितलाई संकेत गर्दै सबै दलको सहभागितामा सर्वदलीय सहमतिको सरकार बनाउन सकिने धारणा सार्वजनिक गरेका थिए । कार्कीकै मन्त्रिमण्डलमा मन्त्री रहेर साढे चार महिना बढी समय काम गरेका चापागाँईले प्रदेश सहमतिको सरकारले नै कोशी प्रदेशको स्थायित्व र विकास हुने बताएका हुन् ।

माओवादी कोशी प्रदेश कमिटीका सचिव समेत रहेका प्रदेश सभा सदस्य गणेश उप्रेतिले सरकार गठन हुँदा नै यस्तो अवस्था सिर्जना हुने कुरा आफूलाई लागेको बताए । तर, दलभित्र र बाहिर पार्टीका नेताहरूले कुरा नबुझेपछि देश, अदालत र समयले बेकारमा दुःख पाएको टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यै (आदेश) आउँछ भन्ने त तेतिबेलै भनेको, बुझ्नेहरूले कुरो नबुझेपछि बच्चा जस्तो चकलेटमा जिद्दी गरेपछि देशले, अदालतले, समयले बेकारमा दु:ख पायो ।’

उप्रेति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ जीवन आचार्यलाई दोहोर्याएर मन्त्री बनाउन नहुने अडानमा थिए ।

उप्रेति आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाउनकै लागि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारबाट बाहिरिएर थप राजनीतिक अस्थिरता सिर्जना गर्न खोजिएको भन्दै त्यतिबेला पार्टीभित्र आवाज उठाएका थिए ।

उनले सभामुखलाई सरकार गठनको प्रक्रियामा हस्ताक्षर गर्न लगाएपछि पनि ‘हुँदा छँदाको सभामुखलाई डुबाएर नर्कको यात्रा सुरु गरे सत्ता लिम्पाले आसक्त भएकाहरूले’ भन्दै सामाजिक सञ्जालमै कटाक्ष गरेका थिए ।

यता माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने अदालतको आदेशपछि कोशी प्रदेशमा उत्पन्न भएको राजनीतिक परिस्थितिको विषयमा शुक्रबार मात्रै आधिकारिक धारणा व्यक्त गर्ने जानकारी दिएका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x