कोशी

हिक्मत कार्कीलाई कामचलाउ स्वीकार्न आनाकानी, मुख्यमन्त्री कार्यालयको साइटमा अझै थापाकै फोटो

बाबुराम भण्डारी |
साउन १५, २०८० सोमबार १०:५८ बजे

विराटनगर । सर्वोच्च अदालतको साउन ११ को फैसलाले उद्धव थापालाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी गर्ने देखिका सबै प्रक्रिया उत्प्रेषणबाट बदर गर्दा पनि कोशी प्रदेशमा कामचलाउ मुख्यमन्त्री स्वीकार्न प्रमुख परशुराम खापुङ्गले आनाकानी गरेका छन् । 

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको दाबीमा गरेको हस्ताक्षरलाई प्रदेश प्रमुख खापुङ्गले आग्रहपूर्ण स्वीकृति दिंदा सर्वोच्चले थापालाई मुख्यमन्त्री नियुक्ति गरिएको सबै प्रक्रिया बदर गरिदिएको छ । 


मुख्यमन्त्री नियुक्ति प्रक्रिया नै बदर गर्दै सर्वोच्चले जन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटी भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तबरले सरकार गठनको प्रकृया अगाडि बढाउन कोशी प्रदेशका प्रदेश प्रमुख खापुङ्गको नाममा परमादेश जारी गरेको थियो । 

प्रदेश प्रमुखले सर्वोच्चको सोही आदेश पालना गर्दै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि मंगलबार अपरान्ह ५ बजेसम्म दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन् । 

तर उनले सरकारविहिनताको अवस्था अन्त्य गर्न भने कुनै चासो देखाएका छैनन् । प्रदेश प्रमुखको कार्यालय स्रोतका अनुसार सर्वोच्चको आदेशको पूर्णपाठ आइनपुगेको भन्दै कार्कीलाई कामचलाउ मुख्यमन्त्री तोक्न भने उनले चाहेका छैनन् । जसका कारण साउन ११ यता कोशी प्रदेशको कामचलाउ सरकार कसको भन्ने प्रश्नको जवाफ पाउन कठिनाई भइरहेको छ ।

थापाको सरकार अवैधानिक भएको सर्वोच्चको फैसलाको भोलिपल्ट विराटनगर आइपुगेका एमाले संसदीय दलका नेता कार्कीलाई माथिको दबाब भन्दै कोशी प्रदेशका प्रमुख सचिव डा.दिपक काफ्लेले विराटनगर विमानस्थलमा गाडी समेत नपठाएपछि एमाले रुष्ट बनेको छ ।

सर्वोच्चले उद्धव थापाको नेतृत्वको सरकार गठनको दाबी नै असंवैधानिक ठहर गरेका कारण तत्कालीन कोशी सरकारको कामचलाउ नेतृत्व कार्कीकै रहेको एमालेको दाबी छ । प्रदेश प्रमुखको कार्यालयले कामचलाउबारे कुनै धारणा सार्वजनिक नगरेको भन्दै एमाले संसदीय दलका उपनेता राम रानासहितको टोलीले सोमबार १२ प्रदेश प्रमुखलाई भेटेर धारणा माग्ने तयारी गरेको छ ।

‘उद्धव थापा नेतृत्वको सरकारको गठन नै असंवैधानिक भनिसकेपछि प्रदेश प्रमुखज्यूलाई कामचलाउ सरकारबारे बोल्न किन यति गाह्रो भएको छ भन्ने एमालेले बुझ्न सकेको छैन, एकपटक संविधानको पालनामा त्रुटी भइसक्दा पनि वहाँलाई कसले गलत सल्लाह दिइरहेको छ भन्ने हामी जान्न चाहन्छौं’ एमालेका एक प्रदेश सभा सदस्यले भने, ‘कुनै बहानामा गठबन्धनकै पक्षमा त वहाँको भूमिका रहेको छैन भन्ने कुरामा एमालेलाई आशंका उब्जिएको छ, वहाँले जवाफ दिनुपर्छ, उहाँ जुन भूमिकामा हुनुहुन्छ त्यो वहाँबाट पालना हुनैपर्दछ ।’

प्रदेश प्रमुख खापुङ्गले कामचलाउ सरकारबारे मौन बस्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत कार्कीलाई कामचलाउ सरकारको नेतृत्वकर्ता स्वीकार सकेको छैन । खापुङ्गको अनिर्णयका कारण मन्त्रिपरिषद् कार्यालयले आफ्नो वेवसाइटबाट उद्धव थापाकै फोटो मुख्यमन्त्रीका रुपमा राखिराखेको छ ।
मुख्यमन्त्री कार्यालय स्रोतले प्रदेश प्रमुखबाट निर्णय नआएको भन्दै फोटो हटाउन अप्ठेरो भएको जनाउँदै आएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x