कोशी

सरकार बनाउने संख्या पुर्‍याउन कोशीका सभामुखले दिए राजीनामा

बाबुराम भण्डारी |
साउन १६, २०८० मंगलबार १६:३६ बजे

विराटनगर- कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख सृजना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।

असार २१ मा नेपाली काङ्ग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री गर्ने प्रयोजनका लागि दाबी पत्रमै हस्ताक्षर गरेर विवादित बनेका थिए । उक्त दाबी बमोजिमको थापा नेतृत्वको सरकार गठनको सबै प्रक्रियालाई सर्वोच्च अदालतको पूर्ण इजलासले बदर गरिदिएको छ ।


सभामुख गौतमले पुनः थापालाई मुख्यमन्त्री बनाउने प्रयोजनका लागि पदबाट राजीनामा दिएका हुन् ।

संविधानको धारा १८२ को उपधारा (६) को (ख) मा सभामुख वा उपसभामुखले लिखित राजीनामा दिएमा पद रिक्त हुने व्यवस्था छ । त्यसैगरी प्रदेश सभा नियमावलीको नियम १६८ को उपनियम (१) मा सभामुखले उपसभामुखलाई सम्बोधन गरि आफ्नो पदबाट राजीनामा दिन सक्ने व्यवस्था उल्लेख छ । 

उपनियम (२) मा त्यसरी दिइएको राजीनामा अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउने र बैठक चालू नरहेको अवस्थामा सूचना पत्रमा प्रकाशन गरी त्यसको प्रचार प्रसार समेत गराइने व्यवस्था रहेको छ ।

गौतम २०७९ पुस २८ मा कोशी प्रदेश सभाको सभामुख चयन भएका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x