कोशी

राजीनामा दिएका सभामुखको बचाउ गर्दै मुख्यमन्त्री थापाले भने : मैले भोलि राजीनामा दिँदा म बदनाम हुन्छु र ?

बाबुराम भण्डारी |
साउन १६, २०८० मंगलबार १९:८ बजे

विराटनगर- सभामुख बाबुराम गौतमले मंगलबार नै राजीनामा गरेपछि कोशी प्रदेश सभाको बहुमत (४७) देखाएर मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्ति भएका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख गौतमको राजीनामाको बचाउ गरेका छन् । उनले राजीनामाका कारण गौतमको कुनै पनि किसिमले विवादित र बदनाम नहुने जिकिर गरेका छन् ।

कोशी प्रदेश सभामा देखिएको अंकगणितका कारण सिर्जना भएको राजनीतिक अस्थिरताबाट निकास दिन सभामुखको राजीनामा उपयुक्त कदम भएको उनले बताए । सभामुखको राजीनामाले प्रदेशको स्थिरताको अवसर सदुपयोग भएको थापाकाे भनाइ छ ।


‘सभामुखलाई हार्दिक धन्यवाद छ किनभने यो प्रदेशमा राजनीतिक अस्थिरता छ, जुन अस्थिरताले हामीसँग भएका अवसरको सदुपयोग गर्न सकिराखेका छैनौं, वहाँको राजीनामाले अस्थिरतालाई पार गराएको छ,’ थापाले भने, ‘राजनीतिक निकासका लागि सभामुखले बाटो खुला गरिदिनु भएकोले बदनाम हुँदैन, म मुख्यमन्त्री नियुक्त भएको छु, मैले भोलि राजीनामा दिँदा मेरो बदनाम हुन्छ र ?’

उनले सभामुखले राजीनामा दिन चाहँदा कुनै पनि बदनाम नहुने जिकिर गरे । संविधानमा सभामुखबाट राजीनामा दिनै मिल्दैन भन्ने व्यवस्था नरहेको समेत तर्क गरे । गौतम राजनीतिक कार्यकर्ता भएकोले उनले पार्टीमा संकट परेका कारण राजीनामा दिनुपरेको बताए ।

राजीनामा दिएका गौतमलाई आवश्यक परामर्श गरेर मन्त्री पनि बनाउन सकिने मुख्यमन्त्री थापाले बताए । उनले भने, ‘वहाँलाई मन्त्री बनाउने पनि हुनसक्छ, यो सम्भव छ ।’ सरकारले ३० दिनभित्रै विश्वासको मत लिने थापाले उल्लेख गरे । त्यसका लागि उपयुक्त समय निश्चित गरिने जानकारी दिए ।

‘हामीसँग गठबन्धनको बहुमत पुगेको छ, सभामुखले राजीनामा दिएपछि उपसभामुखले बैठक सञ्चालन गर्नुहुन्छ,’ उपसभामुखको पनि राजीनामा आए के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘उपसभामुखको राजीनामा आएपछि नै हामी सोचौँला, तर वहाँको राजीनामाको परिकल्पना हामीले गरेको छैन ।’

मुख्यमन्त्री नियुक्त थापाले अघिल्लो पटक मन्त्री बनेकालाई समेत अवसर दिएर बुधबार नै आफूले सपथ लिने र मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए । मन्त्रिमण्डल ९ सदस्यीयभन्दा माथि नजाने पनि जानकारी दिए ।

‘पुरानो पनि दोहोरिन सक्नुहुन्छ, नयाँ पनि आउन सक्नुहुन्छ, संख्या हामी गठबन्धन बसेर निर्धारण गर्छौं,’ थापाले भने, ‘यो सरकार चार वर्षका लागि बनेको हो, तर सरकारको मुख्य चुनौती भनेको राजनीतिक अस्थिरता नै हो, सदनभित्रको गणितले हामीलाई समस्या ल्याइराखेको छ ।’

थापाले यसअघि कोशी प्रदेशमा सरकार शून्यताको अवस्था नरहेको बताए । उनले सर्वोच्चको आदेशले आफूलाई नै कामचलाउ सरकारका रूपमा स्वीकार गरेको दाबी गरे ।

‘यो सात दिन सरकार शून्यतामा गएको छैन, मलाई नै जिम्मेवारी दिएको हो, तर मैले केयर टेकिङ गभर्नमेन्टको सेवा सुविधा ग्रहण गरिन,’ उनले भने, ‘त्यसले गर्दा सरकारविहीनता देख्नुभएको हो, झण्डावाला गाडीले नभएका कारण मात्रै सरकार नदेख्नुभयो ।’

अघिल्लो पटक आफूलाई मुख्यमन्त्री नियुक्ति गर्ने प्रक्रियालाई मात्रै सर्वोच्चले सच्याएर आउन भनेको जिकिर गरे । उनले आफ्नो नियुक्ति बदर नभएको पनि दाबी गरे ।
थापा यसअघि असार २१ मा मुख्यमन्त्री नियुक्ति भएका थिए । त्यतिबेला सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरेर उनले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । तर, सर्वोच्च अदालतको पूर्ण इजलासको साउन ११ गतेको फैसलाले उनको नियुक्तिको दाबी प्रक्रियालाई सुरुदेखि नै बदर गरिदिएको थियो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x