कोशी

माओवादीमा मन्त्रीकै लफडा :

सभामुखबाट राजीनामा दिएका गौतमलाई प्रचण्डका ज्वाईं तगारो, मुख्यमन्त्रीको सपथ सारियो

बाबुराम भण्डारी |
साउन १७, २०८० बुधबार ११:१६ बजे

विराटनगर‍- नेकपा माओवादी केन्द्रले मन्त्री टुङ्ग्याउन नसक्दा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको सपथ ग्रहण नै रोकिएको छ । बिहान साढे १० बजेलाई तोकिएको सपथ ग्रहण बेलुका ५ बजेसम्मका लागि सरेको मुख्यमन्त्री उद्धव थापाले जानकारी दिए ।

सभामुखबाट राजीनामा दिएर थापालाई मुख्यमन्त्री बन्ने बाटो खोलेका बाबुराम गौतमलाई मन्त्री बनाउने सहमति भएपनि प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाईं जीवन आचार्यले पनि मन्त्री दाबी गरेपछि विवाद चर्किएको हो । 


माओवादी केन्द्रले उद्धव थापा नेतृत्वको सरकारमा गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसहित पठाउने तयारी गरेपनि आचार्यले पनि सोही मन्त्रालयको दावी गरेका हुन् । आचार्य यसअघि थापाकै नेतृत्वको सरकारमा उनले रोजेको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्ति भएका थिए । तर सर्वोच्चको साउन ११ को आदेशले अघिल्लो सरकारको गठन प्रक्रिया नै खारेज गरेको थियो । 

माओवादीको विवादले मुख्यमन्त्री थापाको सपथ नै रोकिएको हो । माओवादीमा मन्त्री छान्न भएको ढिलाईले मन्त्रीहरुको कार्यविभाजन हुन नसक्दा सपथ रोकिन गएको मुख्यमन्त्री थापाले बताए । आफुले बाध्य भएर सपथ ग्रहण सार्नु परेको उनले बताए ।

सपथ ग्रहण कार्यक्रममा पुगिसकेका उच्च पदस्थ अधिकारीहरु भने सपथ सरेको सुचना आएको भन्दै प्रदेश प्रमुखको कार्यालयबाट फर्किएका छन् ।

प्रदेश प्रमुखको कार्यालयले पनि सपथ सरेको जानकारी दिएको छ । मन्त्रीको सपथ लिन पुगेका नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य कमल प्रसाद जवेगु पनि ढिलाई प्रती असन्तुष्ट बन्दै फर्किएका छन् ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की, उपसभामुख सृजना दनुवारलगायत सुरक्षा प्रमुखहरु पनि प्रदेश प्रमुखको कार्यालयबाट हिँडेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x