कोशी

जेलबाट छुटे लालबहादुर

बाबुराम भण्डारी |
साउन १७, २०८० बुधबार २०:५० बजे

विराटनगर -बैंकिङ कसुर लगायतका ठगी मुद्दामा फसाइएका गोपाल अर्थात लालबहादुर विश्वकर्मा बुधबार सुनसरीको झुम्का कारागारबाट छुटेका छन् । 

नौ महिनादेखि थुनामा रहेका इटहरी उपमहानगरपालिका–१९ बरमपुर फूलबारी टोलका लालबहादुरलाई उनका बाबु ७० वर्षीय हर्कबहादुर र ६८ वर्षीया आमा सीतासहितका आफन्त र गाउँलेहरु कारागारसम्मै पुगेका थिए ।


मंगलबार उच्च अदालत विराटनगरले जिल्ला अदालत सुनसरीको फैसलालाई उल्टीको आदेश दिंदै लालबहादुरलाई सफाई दिएको थियो । सोही आदेश अनुसार ३३ बर्षीय लालबहादुर बुधबार अपरान्ह साढे २ बजेतिर झुम्का कारागारबाट छुटेका हुन् ।

उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लालबहादुरलाई अवैध वित्तीय कारोबार सञ्चालन एवं ठगी मुद्दामा सफाईसहित थुनामुक्त गर्ने फैसला गरेको थियो । उनलाई झुम्का कारागारका निमित्त प्रमुख कृष्ण सुवेदी, चौकीदार श्रीकुमार राई लगायतले कारागारबाट बिदाइ गरेको जनाइएको छ ।  

लालबहादुरको न्याय र रिहाईका लागि आफुहरुले चलाएको अभियान पनि उनी छुटेसँगै सफल भएको अभियन्ता किशन चौलागाईले बताए । लालबहादुरले पनि आफूले न्याय पाएको भन्दै आफूजस्तै अन्यायमा परेका धेरैलाई न्याय दिलाउन सकिए आफू पनि खुसी हुने प्रतिक्रिया दिएका थिए । उनले अदालतबाटै आफूले न्याय पाएको पनि बताए ।

झण्डै पौने ५ करोड रुपैयाँ बिगो तोकिएर झुम्का कारागारको कैदी बनेका उनी इटहरी–२० तरहरास्थित सिंहदेवी ज्वेलर्सका संचालक दीपक परियारको ठगी धन्दाको शिकार बनेका थिए ।

उनलाई जिल्ला अदालत सुनसरीले ठगी सम्बन्धी मुद्दामा बिगो बापतको ४ करोड ७१ लाख १६ हजार ७ सय २४ रुपैयाँसहित डेढ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना भराउने आदेश दिएको थियो । दिपकले २०७२ सालबाट ज्वेलर्स चलाउन थालेका थिए । उनले लालबहादुरलाई कामदार राखेर सिंहदेवी मनि ट्रान्सफर र सिंहदेवी इन्डष्ट्रिज प्रालि नामका दुई कम्पनी समेत खडा गरेका थिए ।

ज्वेलर्सका कालिगड रहेका लालबहादुर संचालक दिपकका बुबा कृष्णबहादुर परियारसँगै पक्राउ परेका थिए । पीडितहरुले ज्वेलर्स संचालकविरुद्ध मुद्दा दायर गर्दा लालबहादुरसहित पाँच जनालाई विपक्षी बनाउँदै संचालक सरहको विगो र कैद सजायको माग गरेका थिए । 

लालबहादुरलाई २०७५ असार २५ मा दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । उक्त मुद्दामा जिल्ला अदालत सुनसरीकी न्यायाधीश निर्मला योङ्याको इजलासले २०७८ पुस १ मा फैसला गर्दा लालबहादुर पनि दोषी ठहर भएको आदेश दिएको थियो । सोही फैसलाका कारण लालबहादुर २०७९ मंसिर २१ गते पक्राउ परेर झुम्का कारागार चलान भएका थिए ।

२०७५ जेठ २० मा ज्वेलर्स संचालक दिपकसहितको समूहले ५२ लाख ६६ हजार ठगी गरेको भन्दै सुकमति गुरुङसहित नौ जनाले इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिएका थिए । ज्वेलर्सका संचालक दीपकले सर्वसाधारणबाट १८ प्रतिशतसम्म ब्याज दिने भन्दै पासबुक बनाएर रकम संकलन गरेका थिए । 

ज्वेलर्स संचालक दिपक नभएको बेलामा ब्याजका लागि बचत गर्न आउनेको विवरण पासबुकमा भर्न उनका बाबु कृष्णबहादुरले लालबहादुरलाई काम लगाउने गरेका थिए । संचालकहरुको आदेशकै भरमा लालबहादुरले कञ्चन चौधरी र अन्जना राईको नाममा रहेको पासबुकमा बचत जम्मा गर्दा आफैंले हस्ताक्षर गरिदिएका थिए । सोही कारण उनी ठगी मुद्दामा फसेका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x