कोशी

कोशी प्रदेशमा स्वास्थ्य मन्त्रालय लिएर जसपा सरकारमा

‘कोशी’ नाम काटेर निर्मला लिम्बुले लिइन् मन्त्रीकाे शपथ

बाबुराम भण्डारी |
साउन २६, २०८० शुक्रबार १७:४७ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले जनता समाजवादी पार्टीकी एक मात्र सांसद निर्मला लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । मन्त्री लिम्बुलाई शुक्रबार अपरान्ह साढे ४ बजे कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कोशी प्रदेश नामकरणको विरोध गर्दै आएकी लिम्बुले मुख्यमन्त्री थापाले प्रदेशको पुनः नामकरण गर्न प्रतिबद्धता जनाएकाले आफू मन्त्रिमण्डलमा सहभागी भएको बताइन् । 'कोशी नाम खारेजीको विषयलाई लिएर आन्दोलनरत संघर्ष समितिसँग सरकारले वार्ता र सम्वादबाट सम्बोधन गर्छ भन्ने लिखित प्रतिबद्धता मुख्यमन्त्रीबाट आइसकेका कारण मैले शपथ लिएको हो,’ मन्त्री लिम्बुले भनिन्, ‘सरकारले प्रतिबद्धता कार्यान्वयन गरेन भने सरकारबाट बाहिरिन तयार छु ।’


लिम्बुले यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि तत्कालीन गठबन्धन दलको तर्फबाट स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । 

‘कोशी’ नाम काटेर शपथ

शपथ ग्रहण भइसकेपछि मन्त्री लिम्बुले ‘कोशी प्रदेश’ उच्चारण गर्नु परेको भन्दै प्रदेशको नाम नभनीकन शपथ लिन चाहेको प्रदेश प्रमुख खापुङसँग समक्ष आग्रह गरिन् । कोशी प्रदेशकै मन्त्रालय सम्हाल्न पुगेकी मन्त्री लिम्बुले प्रदेशको नामसँग भने असहमति प्रकट गरिन् ।

उनले एउटा शब्द नभनीकन शपथ लिन चाहेको बताएपछि प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्रकुमार श्रेष्ठले उक्त शब्द के होला ? भन्दै सोधेका थिए ।
उनले शपथको व्यहोरा पुनः दोहोर्याउँदै कोशी प्रदेशको साटो १ नम्बर प्रदेश उच्चारण गरिन् । उनले कोशी नाम सच्चिनुपर्छ भनेर नै विगतमा मन्त्री पदबाट राजीनामा दिएको भन्दै शपथ पढ्दै जाने क्रममा कोशी प्रदेश उच्चारण गर्नुपरेको बताइन् ।

मन्त्री लिम्बुले त्यतिमात्रै गरिनन्, प्रदेश प्रमुखको कार्यालयले दिएको शपथको लिखित व्यहोरामै कानुनविपरीत कोशी नाम काटेर प्रदेश १ लेखेकी छिन् । प्रदेश सभाबाट दुईतिहाई बहुमतले पारित गरेको प्रदेशको नामलाई अस्वीकार गर्दै मन्त्री लिम्बुले पुनः शपथको व्यहोरा पढेपछि शपथ ग्रहण समारोहमा उपस्थित भएका सत्ता गठबन्धनका नेताहरू भने मुखामुख गरेर बसेका थिए ।

प्रदेश प्रमुखको कार्यालयका कानुन अधिकृत योगराज गिरीले मन्त्री आफैँले कानुन विपरीत प्रदेशको नाम काटेको बताए । उनले कानुन अनुसारको शपथ ग्रहणको व्यहोरालाई नै परिवर्तन गर्न नमिल्ने बताए ।

‘शपथको व्यहोरामा बोल्दामात्रै भन्दा हुने विषय थियो, कानुन विपरीत गरेर वहाँले कोशी नाम काटेर प्रदेश १ लेख्नु भयो,’ गिरीले भने, ‘कोशी नाम काटेको ठाउँमा हामीले मन्त्रीज्यूलाई हस्ताक्षर गर्न लगाएका छौं ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x