कोशी

कोशीका मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिनुपर्ने

उपसभामुख दनुवारले तोकिन् १ बजेको समय

बाबुराम भण्डारी |
भदौ १, २०८० शुक्रबार १८:२० बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते आइतबार प्रदेश सभामा विश्वासको मत लिन समय मागे पनि उपसभामुख सृजना दनुवारले ४ गते सोमबारलाई समय दिएकी छन् । मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा सूचना दर्ता गरेका थिए । तर, उपसभामुख दनुवारले मुख्यमन्त्री थापालाई भोलिपल्टको समय दिएकी हुन् ।

मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेको सूचना प्रदेश सभामा प्राप्त भएको र उक्त प्रस्तावमाथि उपसभामुख दनुवारले भोलिपल्टको समय तोकेको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।


प्रदेश सभा नियमावलीको नियम १२८ को उपनियम (१) मा संविधानको धारा १६८ को उपधारा (२) वा (३) बमोजिम नियुक्त हुने मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्ने सूचना प्रदेश सभाको सचिवलाई दिनु पर्ने उल्लेख छ । त्यस्तो सूचना प्रस्तावमाथि छलफल हुने दिनभन्दा दुई दिन अगावै दिनुपर्ने उपनियम (२) मा उल्लेख छ । 

सोही नियमको उपनियम (३) मा सूचना प्राप्त भएपछि सचिवले सभामुख समक्ष पेस गर्ने र सभामुखले बैठकमा प्रस्ताव पेस गर्ने दिन र समय तोक्ने व्यवस्था गरिएको छ । उक्त व्यवस्था अनुसार उपसभामुख दनुवारले मुख्यमन्त्री थापालाई भदौ ४ गते सोमबार विश्वासको मत लिन समय दिएको जनाइएको छ ।

मुख्यमन्त्री थापा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम साउन १६ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेकोले साउन ३ गतेको कार्यसूचीमा समावेश गर्ने गरी प्रदेश सभा नियमावलीको नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएका हुन् । 

उपसभामुख दनुवारले मुख्यमन्त्री थापालाई प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिनको १ बजेको समय दिएकी हुन् । सभामुख बाबुराम गौतमले कांग्रेस संसदीय दलका नेता थापाको नेतृत्वमा सरकार गठनका लागि पदबाट राजीनामा दिएपछि कोशी प्रदेश सभाको नेतृत्व उपसभामुखको हातमा पुगेको छ । 

शुक्रबार बसेको प्रदेश सभा बैठकपछि उपसभामुख दनुवारले अर्को बैठक भदौ ४ गते सोमबार दिनको १ बजेसम्मका लागि स्थगित गरेकी छन् । कोशी प्रदेशका मुख्यमन्त्री थापाले सोमबारको प्रदेश सभा बैठकमा ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या पुर्याएर विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको छ ।

वर्तमान सत्ता गठबन्धनसँग प्रदेश सभाको बहुमत संख्या ४७ मात्रै रहेको छ । मुख्यमन्त्री थापा नेतृत्वको सरकार ढाल्ने प्रयोजनका लागि एमालेले समेत उपसभामुख दनुवारलाई राजीनामा गराउन सक्ने सम्भावना कायम रहेको सत्ता पक्षका सांसदहरूले आशंका गर्दै आएका छन् । उपसभामुख दनुवारले राजीनामा दिनसक्ने अवस्थाप्रति सचेत रहँदै सत्ता गठबन्धनले भने ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरिसकेको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x