कोशी

मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत लिन संकट

कोशीमा एमाले र राप्रपाका ८ ज्येष्ठ सांसदले दिए अनुपस्थित हुने जानकारी

कांग्रेसका अर्यालले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था बन्दै

बाबुराम भण्डारी |
भदौ ३, २०८० आइतबार १९:२४ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई प्रदेश सभाबाट विश्वासको मत लिनबाट रोक्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्येष्ठ सदस्यहरूलाई प्रदेश सभा बैठकमा अनुपस्थित बनाउने रणनीति लिएका छन् । एमालेका ६ जना र राप्रपाका २ प्रदेश सभा सदस्य सदस्यले सोमबारको प्रदेश सभा बैठकमा अनुपस्थित हुने लिखित जानकारी प्रदेश सभा सचिवालयमा गराएका छन् ।

एमालेबाट ज्येष्ठताको दोस्रो नम्बरमा रहेका रोहितबहादुर कार्की, चौथो नम्बरकी मालतीकुमार लिम्बु, पाँचौं नम्बरका रामप्रसाद महतो, छैठौं नम्बरकी तारादेवी ढकाल, सातौं नम्बरका खड्गबहादुर बस्नेत र १२औं नम्बरका ज्ञानेन्द्र सुवेदीले सोमबारको बैठकमा अनुपस्थित रहने लिखित जानकारी गराएका हुन् ।


त्यसैगरी ज्येष्ठतामा तेस्रो नम्बरमा रहेका राप्रपाका अम्बरबहादुर विष्ट र नवौं नम्बरमा रहेका गोपाल बहादुर विश्वकर्माले सोमबारको प्रदेश सभा बैठकमा अनुपस्थित हुने जानकारी सचिवालयलाई दिएका छन् । आइतबार बेलुका कार्यालय समयसम्म प्रदेश सभामा बैठकमा आठ जना सदस्यहरूले सोमबारको प्रदेश सभा बैठकमा अनुपस्थित हुने जानकारी गराएको प्रदेश सभा सचिवालय स्रोतले जनाएको छ ।

उनीहरू बैठकमा अनुपस्थित भएको खण्डमा प्रदेश सभाको बैठक तेह्रौं नम्बरमा रहेका नेपाली कांग्रेसका सभा सदस्य अमृतकुमार अर्यालको अध्यक्षतामा सञ्चालन गर्नुपर्ने अवस्था बनेको हो । किनभने मुख्यमन्त्री थापाले विश्वासको मत लिनका लागि सत्ता गठबन्धनका सबै ४७ जना सांसद अनिवार्य प्रदेश सभामा उपस्थित हुनुपर्ने बाध्यात्मक अवस्था रहेको छ ।

आठौं नम्बरमा रहेका एमालेका ज्येष्ठ सदस्य किशोरचन्द्र दुलाल भने हाल विदेशमा रहेका कारण उनी पनि अनुपस्थित हुनेछन् ।

मुख्यमन्त्री थापा ज्येष्ठताको दशौं नम्बरमा रहेका छन् । त्यस्तै एघारौं नम्बरमा रहेका नेकपा एसका कमलप्रसाद जवेगु पनि थापा नेतृत्वको सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भएकोले उनीहरूले प्रदेश सभाको बैठकको अध्यक्षता गर्ने छैनन् ।

कोशी प्रदेशमा सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्याएका मुख्यमन्त्री थापा साउन १६ गते कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिएरमात्रै सरकार विस्तार गर्ने बताउँदै आएका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेश सभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

राप्रपाका प्रदेश सभा सदस्य विष्टले पार्टीको केन्द्रीय निर्देशन बमोजिम नै मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन बैठकमा अनुपस्थित रहने जानकारी दिए । मुख्यमन्त्री थापाले सोमबार प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि प्रदेश सभा बैठक आह्वान समेत भइसकेको छ । उपसभामुख सृजना दनुवारले अपरान्ह १ बजेका लागि मुख्यमन्त्री थापाले विश्वासको मत लिने गरी बैठक बोलाएकी छन् ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमको राजीनामापछि प्रदेश सभाको बैठक उपसभामुख दनुवारले सञ्चालन गर्नुपर्ने संवैधानिक बाध्यता छ । थापालाई प्रदेश सभाबाट विश्वासको मत लिनका लागि उपसभामुख दनुवारले बैठकको अध्यक्षता गर्दा सहज हुन्छ ।

९३ सदस्यीय कोशी प्रदेश सभामा सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ गरी ४७ सिट रहेको छ । तर. मुख्यमन्त्री थापालाई प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न यो सिट संख्या जोखिमपूर्ण संख्या हो । प्रतिपक्षमा रहेको नेकपा एमालेसँग उपसभामुखबाहेक ३९ र राप्रपासँग ६ सांसद रहेका छन् ।

मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त गर्नबाट रोक्नका लागि उपसभामुख दनुवारलाई सोमबारको बैठकमै अनुपस्थित गराउने वा सोमबार बिहान नै राजीनामा गराउनेसम्मको रणनीतिमा एमाले लागेको भन्दै सत्ता गठबन्धन सशंकित देखिन्छ ।

सरकार निर्माणकै लागि सत्ता गठबन्धनले तत्कालीन सभामुख गौतमलाई पदबाट राजीनामा गराइसकेका कारण एमालेले पनि उपसभामुख दनुवारलाई विश्वासको मत लिने दिन बैठकमा अनुपस्थित गराउन सक्ने सत्ता पक्षको बुझाइ छ । 

मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन उपसभामुख दनुवार कुनै कारण देखाएर बैठकमा अनुपस्थित भएमा ज्येष्ठ सदस्यले प्रदेश सभाको बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था बन्छ । 

प्रदेश सभा सचिवालयको रेकर्ड अनुसार ज्येष्ठ सदस्यहरूको सूचीमा कांग्रेसकै गयानन्द मण्डल पहिलो नम्बरमा छन् । तर, मण्डललाई मुख्यमन्त्री थापाले साउन ३१ नै उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री बनाइसकेका छन् ।

विश्वासको मत लिने दिन उपसभामुख दनुवार अनुपस्थित हुने भयले उनलाई राज्यमन्त्री बनाएका कारण प्रदेश सभाको बैठकको अध्यक्षता गर्ने जिम्मेवारी त्यसपछिका ज्येष्ठ सदस्यमा सर्ने अवस्था निर्माण भएको हो । तर, ज्येष्ठताको सूचीमा रहेका एमालेका ७ मध्ये ६ जना प्रदेश सभा सदस्यले बैठकमा अनुपस्थित हुने लिखित जानकारी दिएका हुन् । 

नेकपा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले सरकारले विश्वासको मत प्राप्त गर्ने वातावरण बनाउन नसकेको आरोप लगाएका छन् । उनले उपसभामुख दनुवारलाई राजीनामा गराउने विषयमा दलभित्र कुनै पनि छलफल नभएको समेत दाबी गरे ।

‘उपसभामुख ज्यूले आफ्नो पदीय जिम्मेवारी पुरा गर्ने कुरा गर्नु भएको छ, वहाँले गर्ने कुरामा हामीले निर्णय गर्न मिल्दैन,’ भण्डारीले भने, ‘किनभने सत्ता गठबन्धनले सभामुखलाई राजीनामा गराएर मन्त्री बनाएजस्तो हामीले उपसभामुखलाई राजीनामा गराएर कुनै अर्को पद दिने अवस्था छैन ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x