कोशी

संकटमा कोशी सरकार :

अचानक उपसभामुख दनुवारको स्वास्थ्यमा 'समस्या' आएपछि...

बाबुराम भण्डारी |
भदौ ४, २०८० सोमबार ९:४६ बजे

विराटनगर- कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवार सोमबार बिहान ८ बजेका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक छाडेर काठमाडौँ उडेकी छन् । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन उपसभामुख दनुवार बैठक नै छाडेर हिँडेकी हुन् ।

उनले अस्वस्थताको कारण देखाएर प्रदेश सभाका सदस्य नेपाली कांग्रेसका इस्राइल मन्सुरीलाई सम्बोधन गर्दै लेखेको पत्रमा अचानक स्वास्थ्यमा समस्या उत्पन्न भएको उल्लेख छ ।


उनले सोमबार दिनको १ बजे बोलाइएको प्रदेश सभा बैठकसहित त्यसपछिका सभाका बैठकको अध्यक्षता गर्नसमेत असमर्थ भएको भन्दै सभामुख र उपसभामुखको अनुपस्थित भएको अवस्थामा बैठकको अध्यक्षता गर्ने सदस्यहरूमध्येबाट दोस्रो क्रममा रहेका मन्सुरीलाई आफु उपस्थित नहुञ्जेलसम्म चालु अधिवेशनका बैठकमा उपस्थित भई बैठकको अध्यक्षता गर्न हुन सचिवालयमार्फत सूचना दिएको उल्लेख गरेकी हुन् । 

कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएर मुख्यमन्त्री थापाको नेतृत्वमा सरकार गठनका लागि बहुमत संख्या ४७ पु¥याइदिएपछि प्रदेश सभाको बैठकको अध्यक्षता गर्ने जिम्मेवारी उपसभामुख दनुवारको काँधमा पुगेको थियो ।

एमालेबाट निर्वाचित भएका दनुवारले मुख्यमन्त्री थापालाई प्रदेश सभाबाट विश्वासको मत पाउन नसक्ने अवस्था सिर्जना गर्न सोमबारको बैठक छाडेर काठमाडौं उडेकी हुन् । उनले प्रदेश सभा सचिवालयलाई बोधार्थ दिएको पत्र आइतबार कार्यालय समयभन्दा पछाडि प्राप्त भएकोले सचिवालयले दर्ता गरेको थिएन । उक्त पत्र सचिवालयले सोमबार विहान ९ बजे दर्ता गरेको छ  ।

उपसभामुख दनुवार विराटनगर विमानस्थलको विशिष्ट कक्षको प्रयोग नगरी अन्य यात्रु सरह नै सोमबार विहान ७ बजे उडेको यति एयरलाइन्सबाट काठमाडौँ उडेकी हुन् । कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेर उपसभामुख दनुवार हिंडेको भन्दै बैठकमा पुगेका सत्ता पक्षका सांसदहरूले आक्रोस पोखेका छन् । पत्र दर्ता भएपछि सचिवालयले उपसभामुख दनुवार बैठकमा अनुपस्थित हुने औपचारिक जानकारी कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूलाई गराएको छ ।

यता कोशी प्रदेशका मुख्यमन्त्री थापालाई प्रदेश सभाबाट विश्वासको मत लिनबाट रोक्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार नै आफ्ना ज्येष्ठ सदस्यहरूलाई प्रदेश सभा बैठकमा अनुपस्थित बनाउने रणनीति बनाएको थियो । एमालेका ६ र राप्रपाका २ प्रदेश सभा सदस्य सदस्यले सोमबारको प्रदेश सभा बैठकमा अनुपस्थित हुने लिखित जानकारी प्रदेश सभा सचिवालयमा गराइसकेका छन् ।

एमालेबाट ज्येष्ठताको दोस्रो नम्बरमा रहेका रोहितबहादुर कार्की, चौथो नम्बरकी मालतीकुमार लिम्बु, पाँचौं नम्बरका रामप्रसाद महतो, छैठौं नम्बरकी तारादेवी ढकाल, सातौं नम्बरका खड्गबहादुर बस्नेत र १२औं नम्बरका ज्ञानेन्द्र सुवेदीले सोमबारको बैठकमा अनुपस्थित रहने लिखित जानकारी गराएका छन् ।

ज्येष्ठतामा तेस्रो नम्बरमा रहेका राप्रपाका अम्बरबहादुर विष्ट र नवौं नम्बरका गोपाल बहादुर विश्वकर्माले पनि सोमबारको प्रदेश सभा बैठकमा अनुपस्थित हुने जानकारी सचिवालयलाई गराइसकेका छन् ।

उपसभामुख दनुवारले पदबाट राजीनामा नदिएको खण्डमा प्रदेश सभाको बैठक संचालनका लागि तोकिएका अध्यक्ष मण्डलका चार जना सदस्यहरू मध्येबाट वर्णानुक्रम वा ज्येष्ठताका आधारमा बैठक चलाउनु पर्नेछ । अध्यक्ष मण्डलमा कांग्रेसबाट इस्राइल मन्सुरी, माओवादीकी गीता तिम्सिना, राप्रपाका अम्बरबहादुर बिष्ट र एमालेकी मालतीकुमारी लिम्बू छन् । उनीहरू मध्ये राप्रपाका बिष्ट र एमालेकी लिम्बुले आइतबार नै बैठकमा अनुपस्थित हुने जानकारी सचिवालयमा लिखित दिइसकेका छन् ।

आफु अनुपस्थित हुने भएपछि उपसभामुख दनुवारले पनि अध्यक्ष मण्डलमा बाँकी रहेका मध्येका ज्येष्ठ सदस्य कांग्रेसका मन्सुरीलाई बैठकको अध्यक्षता गर्ने व्यक्ति तोकेकी हुन् । 

कांग्रेसका मन्सुरीले प्रदेश सभाको बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था भए मुख्यमन्त्री थापाले विश्वासको मत पाउन सक्ने छैनन् । किनभने ९३ सदस्यीय प्रदेश सभामा अहिले सत्ता गठबन्धनमा बहुमत संख्या ४७ मात्रै रहेको छ ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेश सभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । आफुले विश्वासको मत पाउन नसक्ने अवस्थामा मुख्यमन्त्री थापाले पनि सोमबारको प्रदेश सभा बैठक स्थगित गरी प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपालाई दवावमा राख्न परामर्श गरिरहेको जनाइएको छ ।

थापालाई प्रदेश सभाबाट विश्वासको मत लिनका लागि उपसभामुख दनुवारले बैठकको अध्यक्षता गर्दा सहज हुन्छ । तर उपभामुख दनुवार काठमाडौं उडेपछि उनलाई अप्ठेरो परेको हो । मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त गर्नबाट रोक्नका लागि उपसभामुख दनुवारलाई सोमबारको बैठकमै अनुपस्थित गराउने वा सोमबार बिहान नै राजीनामा गराउनेसम्मको रणनीतिमा एमाले लागेको भन्दै सत्ता गठबन्धन पहिल्यैदेखि सशंकित बनेका थिए ।

९३ सदस्यीय कोशी प्रदेश सभामा सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ गरी ४७ सिट रहेको छ । तर मुख्यमन्त्री थापालाई प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न यो सिट संख्या जोखिमपूर्ण संख्या हो । प्रतिपक्षमा रहेको नेकपा एमालेसँग उपसभामुखबाहेक ३९ र राप्रपासँग ६ सांसद रहेका छन् ।

विश्वासको मत लिने दिन उपसभामुख दनुवारले राजीनामा दिएको खण्डमा प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले प्रदेश सभाको बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था बन्नसक्ने भन्दै मुख्यमन्त्री थापाले  मण्डललाई यसअघि नै राज्यमन्त्री नियुक्त गरिसकेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x