कोशी

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने

बैठकको अध्यक्षलाई समेत मतदान गराउने तयारी

बाबुराम भण्डारी |
भदौ ४, २०८० सोमबार १४:५७ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै प्रदेश सभाबाट विश्वासको मत लिने बताएका छन् । विराटनगरको होटल स्टर्नस्टारमा दिउँसो १२ बजे बसेको गठबन्धन दलको बैठकपछि विश्वासको मत लिने सम्भावना नदेखिएको बताएका मुख्यमन्त्री थापाले प्रदेश सभा सचिवालयमा पुगेर विश्वासको मत लिने जानकारी दिएका हुन् ।

उनले उपसभामुख सृजना दनुवारले विश्वासको मत लिने समय आजैलाई तोकेको भन्दै विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका हुन् । ‘विश्वासको मत लिने बिचार गरियो, आजै लिने हो,’ मुख्यमन्त्री थापाले भने, ‘अब कार्य व्यवस्था परामर्श समितिको बैठक बस्छ, बैठकले समय निर्धारण गर्छ, सभामुखले हामीलाई दिनुभएको समय मिति आज हो, आजै विश्वासको मत लिनुपर्ने हाम्रो बाध्यता हो ।’


मुख्यमन्त्री थापाले उपसभामुखले तोकेको व्यक्तिबाटै बैठकको अध्यक्षता हुने समेत बताए । 

उपसभामुख दनुवारले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न अध्यक्ष मण्डलका सदस्य नेपाली कांग्रेस संसदीय दलका सदस्य इस्राइल मन्सुरीलाई तोकेकी थिइन् । अचानक बिरामी परेको भन्दै उपसभामुख दनुवार सोमबार विहानै काठमाडौँ उडेकी छन् ।

अध्यक्ष मण्डलका सदस्य मन्सुरीकै अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । बैठकले मुख्यमन्त्री थापाले प्रदेश सभाबाट संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिने कार्यसूची सार्वजनिक गरेको छ ।

मुख्यमन्त्री थापाले भने बैठकको अध्यक्षता गर्ने अध्यक्ष मण्डलका सदस्य मन्सुरीलाई समेत मतदान गराएर प्रदेश सभाबाट विश्वासको मत संख्या ४७ पुर्याउने तयारीमा जुटेका छन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका सदस्य गणेश उप्रेतिले समेत सत्ता पक्षसँग ४७ सांसद रहेकोले विश्वासको मतका लागि बहुमत पुगेको दाबी गरेका छन् ।

प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले सत्ता पक्षले प्रदेश सभाको बैठकको अध्यक्षता गर्ने सभाध्यक्षलाई समेत मतदानमा सहभागी गराएर विश्वासको मत लिन जबरजस्ती प्रयास गरे प्रतिवाद गर्ने चेतावनी दिए ।

‘उपसभामुखले दिनु भएको सूचना अनुसार अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीको अध्यक्षतामा कार्यव्यवस्थाको बैठक बसिसकेको छ, बैठकमा विश्वासको मत लिन अघि बढौँ भन्ने कुरा आएकोले आजै विश्वासको मत विभाजनमा जाने सहमति भएको छ,’ भण्डारीले भने, ‘अध्यक्षले नै मत हाल्ने कुरालाई भने हामी कुनै पनि हालतमा स्वीकार गर्दैनौँ, आपत्ति जनाउँदछौं, त्यसो गरिए बैठकमा जस्तोसुकै परिस्थिति आउन सक्छ ।’

संविधानको धारा १८६ मा ‘प्रदेशसभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुने र अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन,’ भनी स्पष्ट उल्लेख छ । तर, मत बराबर भएमा मात्रै अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिने भन्ने उल्लेख छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x