कोशी

मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादित

मतदान भइसकेर सच्याएपछि सभाध्यक्षले गरे मतदान

बाबुराम भण्डारी |
भदौ ४, २०८० सोमबार १८:५९ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेको सभामुखको भूमिकामा रहेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले घोषणा गरे । उनले आफैँले मतदान गरेर सरकारलाई विश्वासको मत पनि पुर्याइदिए ।

मन्सुरीले प्रदेश सभामा मुख्यमन्त्री थापाले विश्वासको मत छ भनि राखेको प्रस्तावमा मत विभाजनका क्रममा पक्ष, तटस्थ र विपक्ष गरी तीन स्थानमा मत दिने ठाउँ तोकेका थिए । मत विभाजनको समय सकिएपछि उनले कुनै सभा सदस्यलाई मत सच्याउनु पर्ने भए तीन मिनेटको समय दिएका थिए । 


९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त गर्न प्रदेश सभाको ४७ सांसदको मत आवश्यक थियो । सत्ता गठबन्धनभित्र पनि बहुमत सांसद संख्या ४७ रहे पनि नेपाली कांग्रेसका सभा सदस्य मन्सुरी सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रियाका लागि अध्यक्षताको स्थानमा थिए । 

सभाध्यक्ष मन्सुरीले प्रदेश सभा बैठकमा मत विभाजन हुँदा ९३ जना सभा सदस्यहरू मध्ये ७७ जना उपस्थित भएको र विश्वासको मतको पक्षमा ४७ मत प्राप्त भएको भन्दै मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेको घोषणा गरे । उनले विश्वासको मतको विपक्षमा ३० जनाको मत खसेको घोषणा गरे ।

सभामुख बाबुराम गौतमको राजीनामापछि प्रदेश सभा संचालनको जिम्मेवारीमा रहेकी उपसभामुख सृजना दनुवार सोमबार विहानै अचानक अस्वस्थ भएको भन्दै अध्यक्ष मण्डलका सदस्य मन्सुरीलाई सभाध्यक्ष तोकेर काठमाडौं उडेकी थिइन् । उपसभामुख दनुवारको उक्त भूमिका मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त गर्न रोक्नका लागि भएको निष्कर्ष सत्ता गठबन्धनले निकालेको थियो ।

मन्सुरीले प्रदेश सभामा मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्ने प्रक्रियामा आफैँ संलग्न भएर विश्वासको मत पुर्याइदिएका हुन् । उनले मत विभाजन सकिएर मत सच्याउने समय समेत कटेपछि अध्यक्ष मण्डलका अर्की सदस्य गीता तिम्सीनालाई बैठकको अध्यक्षताको आसनमा बोलाए । त्यसपछि उनी मत विभाजनमा विश्वासको मत दिन्छु भन्ने पक्षमा राखिएको नामावलीमा गएर हस्ताक्षर गरेका हुन् ।

उनको हस्ताक्षर लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सभाभित्र नाराबाजी गरेको हो । सभाध्यक्षको कुर्सीमा बसेको व्यक्तिले सरकारलाई विश्वासको मत प्राप्त गर्ने प्रक्रियामा आफैँ सहभागी भएर मत विभाजनका क्रममा पक्षमा मतदान गरेको भन्दै एमालेले त्यसपछिको बैठकको अवधिभर नाराबाजी गरेको हो ।

प्रमुख विपक्षी दल एमाले सभाध्यक्ष पदको दुरुपयोग गरेर संविधान विपरीत सरकार चलेको आरोप लगाएको छ । एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले सभाध्यक्षको भूमिका तटस्थ हुनुपर्नेमा प्रदेश सभाभित्र नर्लज्जको पराकाष्ठा प्रदर्शन भएको बताए । सत्ता गठबन्धनले यसपटक पनि संविधान र कानुन मिचेको भन्दै उपयुक्त उपचारको बाटोमा जाने समेत घोषणा गरे । साथै संविधानविपरीत विश्वासको मत लिएको सरकार वैधानिक नभएको कार्कीले दाबी गरे ।

‘सरकारले अधिनायकवादतर्फको यात्रा तय गरेको छ, कानुनी राज्यको उल्लंघन जे जे भयो भन्दैछौं, त्योभन्दा अझै एक चरण माथि गएर केन्द्रीय गठबन्धनको निर्देशनमा प्रदेशमा रहेको गठबन्धनले गतिविधि गरेको छ,’ कार्कीले भने, ‘सभाध्यक्षबाट पहिला मतदान नै नगरी मत सच्याउने समय समेत सकिएपछि मतदान भएको छ, पहिलो मतै नहालेको र पछि सच्याउने समय समेत सकिएपछि हस्ताक्षर गराइयो, संविधान कानुन मिच्ने कुराको पराकाष्ठा हो ।’

कार्कीले आफूहरू प्रदेश सभाभित्र गरिएको असंवैधानिक अभ्यासका विरुद्धमा आवश्यक परामर्श गरेर कानुनी र राजनीतिक उपचारमा लाग्ने बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x