कोशी

एमाले कोशी अधिवेशन : सांगठानिक प्रतिवेदनमाथि छलफल गर्न सात समूह गठन

इकागज |
असोज १२, २०८० शुक्रबार २१:५६ बजे

विराटनगर- झण्डै दुई घण्टा ढिलो गरेर सुरु भएको नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनको बन्द सत्र भोलिसम्मलाई स्थगित भएको छ । शनिबार विहान ७ बजेदेखि प्रदेश अधिवेशनको बन्द सत्र सुरु हुने जनाइएको छ ।

वर्तमान प्रदेश कमिटीको तर्फबाट अध्यक्ष तुलसी न्यौपानेले शुक्रबार साँझ ६ बजेबाट बन्द सत्र सुरु गर्ने जानकारी गराए पनि झण्डै ८ बजेमात्रै बन्द सत्र सुरु भएको थियो । 


बन्द सत्र संचालन गर्न एमाले केन्द्रीय कमिटी सचिव एवं कोशी इन्चार्ज रघुवीर महासेठको अध्यक्षतामा ११ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्यहरू शेरधन राई, हिक्मतकुमार कार्की, अग्नी खरेल, राजेन्द्र गौतम, डा.शिवमाया तुम्बाहाम्फे तथा केन्द्रीय सदस्यहरू भगवती चौधरी, जगदीशप्रसाद कुसियैत, सुनिता बराल, पर्शुराम मेघी गुरुङ र राम राना रहेका छन् ।

बन्द सत्रमा वर्तमान अध्यक्ष न्यौपानेले प्रदेश कमिटीको सांगठानिक प्रतिवेदनको सारंश प्रस्तुत गरेका छन् । सांगठानिक विस्तृत प्रतिवेदन भने अधिवेशनमा सहभागी ९९७ जना प्रतिनिधिहरूलाई नै बाँडिएको र अध्ययन गर्न गरेर शनिबार विहान ७ बजेदेखि समूहगत छलफल सुरु गर्ने गरी बन्द सत्र स्थगित गरिएको हो ।

त्यसका लागि कोशी प्रदेशका १४ जिल्लालाई प्रतिनिधि संख्याको आधारमा सातवटा समूहमा बाँडिएको अध्यक्ष न्यौपानेले जानकारी दिए । जस अन्तरगत ताप्लेजुङ, पाँचथर र इलामलाई समूह (१), झापालाई समूह (२), संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुमको समूह (३), मोरङको समूह (४), सोलुखुम्बु, खोटाङ र ओखलढुंगाको समूह (५), उदयपुर र सुनसरीको (६) तथा जनवर्गीय संगठनहरूको (७) नम्बर समूह निर्माण गरिएको हो ।

विहान १० बजेसम्म सांगठानिक प्रतिवेदनमाथिको समूहगत छलफल सकेर प्रत्येक समूहबाट प्रस्तुतीकरण गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

प्रतिवेदनमाथिको समूह छलफल सकेपछि बन्द सत्रले सहज रुपमा प्रतिवेदन पारित गरेपछि मात्रै नेतृत्व चयनको प्रक्रिया सुरु हुने जनाइएको छ । अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।


Author

थप समाचार
x