कोशी

एमाले कोशी अधिवेशन

अध्यक्षमा खतिवडा १८ मतले अगाडि, सचिवमा भण्डारीलाई फराकिलो अग्रता

बाबुराम भण्डारी |
असोज १५, २०८० सोमबार २०:२९ बजे

विराटनगर- नेकपा एमाले कोशी प्रदेश कमिटीको मतगणनामा २८२ मतको गणना सकिँदा अध्यक्षमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित गरिएका घनश्याम खतिवडाले १८ मतको अग्रता कायम गरेका छन् ।

खतिवडाले १४९ मत प्राप्त गरेका छन् । अध्यक्षकै प्रत्यासी विनोद ढकालले १३१ मत प्राप्त गरेको प्रदेश निर्वाचन कमिटीका संयोजक वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले जानकारी दिए ।


सचिवमा पनि खतिवडाकै समूहका राजकुमार भण्डारीले भने ५० फराकिलो अन्तरमा अग्रता लिएका छन् । उनले १६१ मत पाउँदा सचिवका प्रत्यासी ढकालको समूहबाट लडेका शैलेश लामाले १११ मत प्राप्त गरेका हुन् ।

दुई उपसचिवका लागि भएको निर्वाचनमा खतिवडा समूहकै जलबर्षा राजवंशीले सबैभन्दा धेरै १८२ र देवान राईले १७५ मत प्राप्त गरेका छन् । राष्ट्रिय सभाका पूर्व सदस्य समेत रहेका उपसचिव पदका उम्मेदवार खेम नेपालीले भने ११८ मत मात्रै प्राप्त गरेका हुन् ।

अध्यक्षको उम्मेदवार बनेका ढकाल अहिले पार्टी केन्द्रीय सदस्य हुन् । उनी पोलिटब्युरो सदस्य सरहको प्रदेश अध्यक्षका लागि प्रतिष्पर्धामा उत्रिएका थिए ।

विराटनगरको होटल मनास्लु इनमा पदाधिकारी, समावेशी क्षेत्र र खुल्ला क्षेत्रतर्फको मतगणना जारी छ । सोमबार साँझ ५ः१५ बजेबाट मतगणना सुरु भएको हो । मतगणनाका लागि सात वटा गणना स्थल कायम गरिएको छ । पदाधिकारी, समावेशी क्षेत्र र भौगोलिक क्षेत्रको मतगणना जारी छ ।

निर्वाचन कमिटीका अनुसार प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटीको निर्वाचनका लागि कुल ९९७ प्रतिनिधिहरू मध्ये ९७ दशमलव ९९ प्रतिशत अर्थात ९७७ जनाले मतदान गरे । २० जना प्रतिनिधिहरू भने मतदानमा अनुपस्थित भएका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x