कोशी

कोशी प्रदेश

मुख्यमन्त्री कार्कीको सपथ २ बजे, एमालेका राना र कांग्रेसका खत्रीलाई मन्त्री बनाउने तयारी

बाबुराम भण्डारी |
असोज २८, २०८० आइतबार १२:१६ बजे

विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज मुख्यमन्त्री पदको सपथ लिने भएका छन् । मुख्यमन्त्रीको सपथ ग्रहण आइतबार दिउँसो २ बजे हुने गरी समय निर्धारण भइसकेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबाट माओवादी केन्द्रका इन्द्र बहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय विपरित कांग्रेसका प्रदेश सभा सदस्य कार्की नेता डा.शेखर कोइराला समूहका ८ र एमालेका ३९ जना सांसदहरुको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।


प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीको पक्षमा ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या ४७ जनाले सनाखत गरेको घोषणा गर्दै संविधानको धारा १६८ को उपधारा (५) अनुसारको मुख्यमन्त्री नियुक्त गरेका थिए ।

एमालेको समर्थनमा मुख्यमन्त्री बन्न सफल भएका कार्कीले एमालेबाट इलामका राम बहादुर राना र डा. शेखर कोइराला समूहका उदयपुरका रामकुमार खत्रीलाई मन्त्री नियुक्त गर्ने तयारी गरेको जनाइएको छ । सत्ता गठबन्धनको निर्णयविरुद्ध एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले कोशी प्रदेश सरकारमा एमाले बाहेक अन्य दलबाट मन्त्री चयन गर्ने अहिल्यै सम्भावना छैन ।

कार्की मुख्यमन्त्री नियुक्त भइसकेका कारण गठबन्धनले बाध्य भएर कार्की नेतृत्वको सरकारलाई स्वीकार गर्ने बाहिरी संकेत देखाएको भएपनि कार्कीले एमालेलाई छाड्ने अवस्था नदेखिएको जनाइएको छ ।

एमाले स्रोतका अनुसार कार्की नेतृत्वको सरकारमा एमाले संसदीय दलका उपनेता समेत रहेका रानालाई मन्त्री बनाएर लैजान सहमति जुटिसकेको जनाइएको छ । एमाले केन्द्रीय सदस्य समेत रहेका राना प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भइसकेका छन् । 

कांग्रेसको विद्रोही समूहको नेतृत्व गरेका इलामका शम्सेर राई पनि मन्त्रीको आकांक्षी रहेका छन् । तर उनलाई दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा मन्त्री बनाउने गरी अहिले खत्रीलाई सपथ ग्रहण गराउने बिषयमा सहमति नजिक पुगेको जनाइएको छ ।

खत्री भने उद्धव थापा पहिलो पटक मुख्यमन्त्री बनेपछि विनाबिभागीय मन्त्री नियुक्त भएका थिए । तत्कालिन सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा मुख्यमन्त्रीका नियुक्तिका लागि दाबी पेश गरेका थापा नेतृत्वको सरकारको गठनसम्बन्धि सम्पूर्ण प्रक्रिया सर्वोच्च अदालतले बदर गरिदिएपछि उनले पनि थापा क्याबिनेटबाट हट्नु परेको थियो । सोही कारण खत्री यसपटक कार्कीको पहिलो रोजाईमा मन्त्रीमण्डलमा सहभागी हुने जनाइएको छ ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x