कोशी

माओवादी र नेकपा एससहितका कोशी सरकार विस्तार हुँदै, आजै मन्त्रीहरूको शपथ

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १८:३ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) समेतलाई सहभागी गराएर सरकार विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री कार्कीको सरकारमा माओवादी र नेकपा एसबाट एक-एक जना मन्त्रीले शपथ ग्रहण गर्न लागेको जनाइएको छ ।

उनले एमालेको आग्रहविपरीत माओवादी र नेकपा एसलाई सरकारमा ल्याउन लागेका हुन् ।


मुख्यमन्त्री कार्यालयले मन्त्रिपरिषद् विस्तारका लागि शपथ ग्रहण गराउन परामर्शसहित समय माग गरेका कारण अहिले साढे ६ बजे शपथ ग्रहण गर्ने गरी तयारी भइरहेको कोशी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले बताए ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार नेकपा एमालेका ३९ र नेपाली कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेर कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । 

प्रदेश प्रमुखको कार्यालयबाट मन्त्रिपरिषद् विस्तारको जानकारी आएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए । मन्त्रिमण्डलमा माओवादीसहितका दलहरू समेतलाई ल्याउने जानकारी आफूले अनौपचारिक स्रोतबाट पाएको उनले बताए ।

‘मुख्यमन्त्रीबाट हामीलाई सरकार विस्तारबारे कुनै जानकारी आएको छैन,’ प्रमुख सचेतक भण्डारीले भने, ‘हामीले माओवादीबाहेकको सरकार रहँदासम्म सरकारलाई साथ दिने कुरा पहिल्यै गरिसकेका छौं, कसलाई सरकारमा ल्याउने नल्याउने कुरा वहाँको कुरा हो, हामी यसबारे पछि निर्णय गर्छौं ।’


Author

थप समाचार
x