कोशी

जाजरकोट र रुकुम पश्चिममा एक/एक हजार थान त्रिपाल, म्याट्रेस र कम्बल पठाउने कोशी सरकारको तयारी

बाबुराम भण्डारी |
कात्तिक १८, २०८० शनिबार १६:३९ बजे

विराटनगर- गए रातिको भूकम्पबाट ठूलो जनधनको क्षति व्यहोरेको कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा राहत स्वरूप कोशी प्रदेश सरकारले एक हजार थानका दरले त्रिपाल, म्याट्रेस र कम्बल पठाउने तयारी गरेको छ ।

कोशी प्रदेश सरकारको शनिबार बसेको आपत्कालीन बैठकले कर्णाली प्रदेश सरकारमार्फत् उक्त सामग्री प्रभावित जिल्लामा पठाउने तयारी गरेको जनाइएको छ । राहत सामग्री आजै विराटनगरबाट पठाइने मुख्यमन्त्री केदार कार्कीले जानकारी दिए ।


प्रदेशको गोदाममा रहेका राहत सहायता सामग्रीमा थप खरिद गरी शनिबार बेलुकासम्म लोड गरेर पठाउने गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयारी अघि बढाइरहेको जनाइएको छ ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारको प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी एक करोड रुपैयाँ सहयोग गर्ने समेत निर्णय गरेको बताए ।

भूकम्पबाट अत्यावश्यकीय मानवीय आवश्यकताका सामग्रीहरू समेत अभाव भएको जानकारी आएकोले कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आवश्यक मानवीय सहयोग सामग्री पठाउने निर्णय गरेको उनले जानकारी दिए ।

‘मन्त्रिपरिषद्को बैठकबाट आवश्यक मानवीय सहयोग सामग्री कर्णाली प्रदेश सरकारलाई पठाउने व्यवस्था मिलाइएको र सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनर्निर्माण लगायतका कार्यमा सहयोग पुर्याउन कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छौं,’ उनले भने ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पले हालसम्म १४३ जनाको ज्यान गइसकेको छ । सबैभन्दा धेरै जाजरकोटमै ९८ जनाको ज्यान गएको छ ।

भूकम्पको कारण प्रभावित जिल्लाहरूमा ठूलो मानवीय, आर्थिक तथा भौतिक क्षति भएको भन्दै त्यहाँ प्रभावकारी उद्धार, राहत, स्वास्थ्य उपचारको काममा शीघ्रताका साथ जुट्न समेत मुख्यमन्त्री कार्कीले आग्रह गरेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x