कोशी

चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द

इकागज |
पुस २८, २०८० शनिबार १०:५७ बजे

सल्लेरी (सोलुखुम्बु)- सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको दुई सय ६७ सामुदायिक विद्यालयमध्ये एक सय एक विद्यालयको पठनपाठन बन्द भएको छ ।

जिल्ला शिक्षा तथा समन्वय एकाइका प्राविधिक सहायक विरमाकुमारी खड्काका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालय हालसम्म बन्द भइसकेका छन् । केहीले बिदा दिने तयारी गरिरहेका छन् । सोलु दूधकुण्ड नगरपालिकामा ६२ सामुदायिक विद्यालयमध्ये ५८, खुम्बु पासाङल्हामु गाउँपालिकाका १७ विद्यालयमध्ये १४ र थुलुङ दूधकोशी गाउँपालिकामा ५१  विद्यालयमध्ये सात  विद्यालय बन्द भइसकेका छन् ।


यस्तै महाकुलुङ गाउँपालिकामा १९ मध्ये आठ, लिखुपिके गाउँपालिकामा २२ विद्यालयमध्ये छ, नेचासल्यान गाउँपालिकामा ३६ विद्यालयमध्ये चार तथा माप्यदूधकोशी गाउँपालिकामा ३९ विद्यालयमध्ये चार विद्यालय बन्द भएको कार्यालयले जनाएको छ ।

हिमाली भेगमा चिसो अत्यधिक हुने भएकाले धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुस/माघमा जाडो बिदा दिने गरेका छन् । यहाँ चिसोका कारण शिक्षक बस्न नसक्ने तथा विद्यार्थीलाई समेत कठिन हुने भएकाले पुस दोस्रो साताबाटै विद्यालय बन्द गरिएको पिके माध्यमिक विद्यालय लोदिङका प्रधानाध्याक चेतबहादुर मगरले बताए ।

उनले भने, 'बालबालिका चिसोका कारण विद्यालयमा कम आउन थालेपछि बाध्य भएर जाडो बिदा दिनुपरेको हो ।'

यस्तै जिल्लाको माथिल्लो खुम्बु क्षेत्रको विद्यालय पुस लाग्दै बन्द गरिएका छन् । उच्च हिमाली क्षेत्रमा मंसिर दोस्रो साताबाटै पानी जम्‍न थालेपछि जाडो बिदा दिइएको खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङका शिक्षक तिलक रसाइलीले बताए ।

“यतिखेर खुम्जुङ पुरै सुनसान छ, त्यहाँ स्थानीयसमेत जाडो छल्न अन्यत्र जान थालेपछि हामीले विद्यालयमा जाडो बिदा दिएका हौँ, यतिखेर बस्न सक्ने अवस्था नै छैन”, उनले भने ।

सोताङ गाउँपालिका क्षेत्रका कुनै पनि विद्यालयले जाडो बिदा दिएका छैनन् । सोताङ न्यानो ठाउँ भएकाले त्यहाँको कुनै पनि विद्यालय बन्द नगरिएको गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले बताए । रासस  


Author

थप समाचार
x