कोशी

'मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिनुपर्छ'

इकागज |
बैशाख ७, २०८१ शुक्रबार २०:२ बजे

काठमाडौँ- कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसँगै मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिनुपर्ने एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।

कोशी प्रदेशसभापछि सञ्चारकर्मीसँग कुरा गर्दै कोशी प्रदेश माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले अल्पमतमा परेको सरकारले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए । बैठकमा मुख्यमन्त्रीले संविधानअनुसार नै अघि बढ्ने बताएकाले ३० दिनभित्र विश्वासको मत लिने विश्वास व्यक्त गरे । ३० दिनभित्र विश्वासको मत नलिए मुख्यमन्त्री कार्की पदमुक्त हुने र नयाँ सरकार गठनको आह्वान हुने उनले बताए ।


त्यस्तै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले अबको ३० दिनसम्म विश्वासको मतका लागि पर्खने र सोही अवधिमा विश्वासको मत नलिए मार्गप्रशस्त गर्न थप दबाब दिने बताए । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन्न भन्न नपाउने भन्दै उनले विश्वासको मत लिन नसके राजीनामा दिनुपर्ने बताए ।

त्यस्तै एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले विश्वासको मत वा राजीनामा दिएर ३० दिनभित्र मार्गप्रशस्त गर्नुपर्ने जिकिर गरे । संकल्प प्रस्ताव बहुमतले पारित भएसंगै मुख्यमन्त्रीलाई संवैधानिक एवं कानुनी दबाब परेको र मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे ।

त्यसअघि शुक्रबार नै बसेको कोशी प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले वैशाख २६ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्नेसहितको संकल्प प्रस्ताव बहुमतले पारित गरेको थियो । 


Author

थप समाचार
x