कोशी

मिक्लाजुङका प्रधानाध्यापक श्रेष्ठको हत्यापछि शोकाकुल गाउँले त्रासमा

इकागज |
मंसिर २४, २०७७ बुधबार १२:७ बजे

मिक्लाजुङको सरस्वती आधारभूत विद्यालय भवन । श्रेष्ठ यसै स्कुलका प्रअ हुन् ।

विराटनगर : मोरङ मिक्लाजुङको उत्तरी विकट क्षेत्रमा यति बेला शोकसंगै त्रास छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले मंगलबार बिहान स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको विभत्स हत्या गरेपछि गाउँ शोकमा डुबेको हो ।

बुुधबार मिक्लाजुङ गाउँपालिकाका सबै विद्यालय बन्द भए । ‘गाउँमा शोक त छँदै छ त्रास पनि उतिकै छ,’ वडा नम्बर १ का अध्यक्ष नगरबहादुर राईले भने, ‘अहिले तत्काल त्यस क्षेत्रमा राज्यको उपस्थिति आवश्यक छ ।’ सामाजिक काममा सक्रिय रहने श्रेष्ठको हत्याले गाउँलेलाई स्तब्ध र त्रसित बनाएको छ । सुरक्षा र सञ्चारको पहुँचबाट टाढा रहेको सो क्षेत्रका बासिन्दा भयभित बनेका छन् । 


मिक्लाजुङ १ को सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठलाई मंगलबार बिहान विप्लव नेकपाका ४/५ जनाले घरबाटै अपहरण गरी करिब १ किलोमिटर टाढा जङगलमा लगि दुवै हात पछाडि बाँधेर घाँटी रेटी विभत्स हत्या गरेका थिए । घटनाको नेकपाले जिम्मा लिइसकेको छ । 

उनको टाउकोमा पनि गहिरो चोट रहेको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले बताए । घाँटी रेट्नुअघि उनलाई टाउकोमा प्रहार गरिएको हुन सक्ने खड्काको भनाइ छ । मंगलबार राति नै उनको शव पोष्टमाटमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । बुधबार वक्राहा खोलामा अन्त्यष्टि गरिदैंछ । उनका एक छोरा र एक छोरी छन् ।

प्रधानाध्यापक श्रेष्ठ शिक्षक मात्र नभइ अगुवा कृषक र सामाजिक अभियन्ता समेत थिए । उनको त्यस क्षेत्रमा राम्रो प्रभाव थियो । अब परिर्वतनका लागि हत्या हिंसाको बाटो सही छैन भन्दै उनले प्रतिवाद गर्ने गरेका थिए । श्रेष्ठको हत्या नगरी यो इलाकामा प्रसय पाउन सकिदैन भन्ने ठानेर हत्या गरेको हुन सक्ने घटना स्थल पुगेर फर्केका मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले बताए । 

याे पनि : प्रधानाध्यापक श्रेष्ठको हत्या जिम्मा चन्द समूहले लियो

घटना भएको क्षेत्र धेरै विकट क्षेत्रमा पर्छ । त्यहाँ पुग्ने जो कोहीले यो पनि मोरङ हो र भन्ने प्रश्न गर्छन् । त्यहाँ पुग्न पैदल तीन/चार घण्टा हिड्नुपर्छ । यही क्षेत्रलाई विप्लव समूहले लामो समयदेखि सेल्टरका रुपमा प्रयोग गर्दै आएको थियो । त्यस क्षेत्रमा उनीहरूले सैन्य गतिविधि समेत सञ्चालन गरेको अनुमान गरिएको छ । घटनामा संगलग्न कोही पनि यो खबर तयार पार्दासम्म पक्राउ परेका छैनन् । 

मोरङ प्रहरीका डीएसपी मानबहादुर राईको नेतृत्वमा घटनाको ६ घण्टापछि एक टोली २ बजेतिर मात्र घटनास्थलमा पुगेको थियो । यस्तै एसपी सन्तोष खड्का नेतृत्वको अर्को टोली र प्रदेश प्रहरी कार्यालयको टोली पनि घटनास्थलमा गएको थियो । श्रेष्ठको हत्यापछि स्थानीयलाई तर्साउन सो समूहले हवाइफायर गरेको अनुमान गरिएको छ । 

यसअघि स्थानीयले गोली चलेको आवाज सुनेको आधारमा शिक्षकको हत्या गोली प्रहारबाट भएको जानकारी प्रहरीलाई दिएका थिए । मिक्लाजुङ पाँचथर, इलाम र धनकुटाको सिमानामा पर्ने मोरङको विकट पहाडी क्षेत्र हो । त्यहाँ विप्लव समूहले पहिलेदेखि नै गतिविधि बढाएका थियो । यसअघि सो क्षेत्रबाट प्रहरीले २ जना कार्यकर्तालाई पक्राउ गरेको थियो ।

मिक्लाजुङमा विप्लव समूहको सैन्य गितिविधि तीव्र भएको सूचनापछि प्रहरीले गत कात्तिक १२ गते दुई जनालाई हतियारसहित पक्राउ गरेको थियो । प्रहरीले चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतीक भनिने काँशीनाथ घिमिरेलाई पक्राउ गरेकोमा उनीहरूलाई पक्राउ गर्न सहयोग गरेको आरोपमा श्रेष्ठको हत्या गरेको प्रहरी स्रोतको भनाइ छ ।

शिक्षक श्रेष्ठको हत्यापछि एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । 


Author

थप समाचार
x