कोशी

निर्यात मैत्री कानुन बनाउन उद्योगीको माग

लीलावल्लभ घिमिरे |
पुस १६, २०७७ बिहीबार १२:० बजे

विराटनगर : प्रदेश १ का उद्योगी व्यवसायीहरूले निर्यात जन्य उद्योगहरूलाई आय करमा विषेश छूट र न्यूनतम् व्याजदरमा ऋण उपलब्ध गराउन माग गरेका छन् । ‘निर्यात प्रवद्र्धन, पारवहन र व्यापार सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगीहरूले यस्तो माग गरेका हुन् । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल लगाएको सहभागिता रहेको थियो । 

मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले  निर्यात जन्य उद्योगहरूलाई आय करमा विषेश छूट र न्यूनतम् व्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने, डिउटी ड्र व्याक सुविधा सम्बन्धित भन्सार कार्यालयहरूबाटै उपलब्ध गराउनु पर्ने माग राखे । उनले भ्यालु एडिसनको आधारमा निर्यात अनुदान कायम गरी अनुदानको दायरा बढाउनु पर्नेमा जोड दिए । अन्तराष्ट्रस्तरको गुणस्तर मापदण्ड र मान्यता प्राप्त व्यापार सहजीकरण निकायको व्यवस्थापन गर्न मुन्दडाले माग गरे । निर्यात प्रर्वद्धन एवं विकासकालागि अध्ययन एवं नियमन निकायलाई सक्रिय बनाउनु पर्ने, सुनसरीको अमडुवामा अवस्थित ६३२ विगाहा जग्गालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्नु पर्ने उनको भनाइ थियो । 


आईसीपी विराटनगरमा गुणस्तर तथा विषादी परीक्षण प्रयोगशालाको स्थापना, चिस्यान केन्द्रको स्थापना, माल वस्तुहरूलाई स्क्यानर एवं एक्सरे मेसिनमार्फत जाँच पासको व्यवस्था गर्न उद्योगीहरूले माग गरेका थिए । 

औद्योगिक कच्चा पदार्थको आयातलाई ग्रिन वर्र्गीकरणमा राखी जाँच पासमा दु्रततादिनु पर्ने, रेल्वेको शिघ्र संचालनमा जोड दिनु पर्ने, रिङ रोडलाई पूर्ण संचालनमा ल्याउनु पर्ने, भारतको बन्दरगाह जोड्न जलमार्गको निर्माण कार्यलाई अघि बढाउनु पर्ने, भारततर्फ जोगबनी आई.सी.पी. सम्मको निर्माणाधिन चार लेनको सडक र पुलको शिघ्र निर्माण तथा भारतको दलखोलामा रेल्वे ट्रयाकका कारण हुने रोड जामको अन्त्यगर्न ओभर व्रिज निर्माणकालागि पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसंग उद्योगीहरूले आग्रह गरेका थिए । 

कार्यक्रममा उद्योगी पवनकुमार सारडाले बंगला देशले अवलम्बन गरेका आयात निर्यात नीतिबाट १० वर्षको अन्तरालमै फड्को मारेको भन्दै नेपालले पनि त्यस प्रकारका नीतिहरू अवलम्बन गर्नु पर्ने बताए । उद्योगी महेश कुमार जाजूले अन्तर्राष्ट्रिय स्तरमा हुने मेला महोत्सवहरूमा नेपाली उत्पादनको समेत प्रदर्शनीकालागि मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गरी सहजीकरण गरिदिनु पर्ने बताए । मोरङ व्यापार संघका सचिव अनिलकुमार सारडाले निर्यात अनुदान भ्यालु एडिसनको आधार दिनु पर्ने बताए ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, वरिष्ठ उपाध्यक्ष सुयस प्याकुरेल, विराटनगर भन्सार कार्यालयका प्रमुख शिवभण्डारी लगायतले बोलेका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालेले निर्यात प्रवद्र्धन गर्न सरकारले अहिलेसम्म गरेका कामका बारेमा जानकारी गराएका थिए । उनले उद्योगीहरूका मागलाई सम्बोधन गर्दै निर्यातलाई बढवा दिइने प्रतिवद्धता जनाए । 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x