कोशी

पूर्वका उखु किसानको व्यस्तता(फोटो फिचरसहित)

लीलावल्लभ घिमिरे |
पुस २६, २०७७ आइतबार १२:१७ बजे

विराटनगर : यतिबेला झापा, मोरङ र सुनसरी जिल्लाका उखु किसानहरू व्यस्त छन् । गत सालको उखुको भुक्तानी लिएका किसानहरू सुनसरीको बर्जुस्थित ईष्टर्न सुगर मिल्समा उखु बुझाउँदैछन् ।


यो मिल्समा दुई वर्षयता सरकारले तोकेअनुसार भुक्तानी गर्न कुनै समस्या छैन । गत वर्ष उद्योगबाट ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारबाट ६५ रुपैयाँ २८ पैसा गरेर प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा किसानले पाएका थिए । तर यस वर्ष उखुको मुल्य अहिलेसम्म सरकारले निर्धारण गरेको छैन ।

यस वर्षप्रति प्रतिक्विन्टल ५४४ रुपैयाँ तोक्ने तयारीमा सरकार छ । गत वर्ष इष्टनले तीन जिल्लाका उखु किसानलाई करीव ६३ करोड रुपैयाँ भुक्तानी गरेको मिल्सका नायव महाप्रवन्धक कृष्ण गौतमले बताए । गत वर्ष मिल्सले १० लाख १३ हजार क्विन्टल उखु किसानबाट लिएको थियो । त्यसबाट १ लाख १७ हजार क्विन्टल चिनी उत्पादन भएको थियो ।

उद्योगले पुस २० गतेबाट कृषकबाट उखु लिएर क्रसिङ गर्दै चिनी उत्पादन गर्न थालेको हो । उद्योगले हालसम्म २ लाख क्विन्टलभन्दा बढी उखु कृषकबाट लिइसकेको छ । इष्टन सुगर मिल्सले काठमाडौंका लागि प्रति केजी ६५ र स्थानीयलाई प्रति केजी ६८ रुपैयाँका दरले चिनी विक्रीगरी रहेको गौतमले बताए ।
पूर्वी तराईका मोरङ, सुनसरी र झापामा ४ हजार ६ सय विघा जमिनमा उखु खेती हुने गरेको छ । सुनसरीमा १० लाख क्वीन्टल, मोरङमा करिब ५ लाख र झापामा बढीमा १५ हजार क्वीन्टल उखु प्रत्येक वर्ष उत्पादन हुँदै आएको छ ।

यस वर्ष मिल्समा १४ लाख ५० हजार क्विन्टल उखु किसानबाट आउने अनुमान गरिएको छ । जसमा २ हजार ४ सयभन्दा बढी कृषक उखु खेतीमा आवद्ध छन् ।

तस्बिर : लीलावल्लभ घिमिरे


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x