कोशी

‘अब प्रदेश सभाका कुर्सी हल्लाउन नमिल्ने’

प्रहरीको संख्या पनि बढाइयाे

लीलावल्लभ घिमिरे |
माघ ५, २०७७ सोमबार १७:५२ बजे

विराटनगर : प्रदेश १ को प्रदेशसभा हलमा रहेका कुर्सी वेल्डिङ गरिएको छ । सदन भित्रका कुर्सी उचाल्न नमिल्नेगरी वेल्डिङ गरिएको हो । माघ ७ गतेबाट प्रदेश सभा बैठक सुरु हुँदैछ । नेकपामा देखिएको विभाजनपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । 

दुइ पक्षबीच सदन भित्रै मुठभेडको अवस्था आउनसक्‍ने सम्भावनालाई मध्यनजर गर्दै कुर्सी वेल्डिङ गरिएको संसद् सचिवालयले जनाएको छ । यसअघि सामाजिक दुरी कामय गरी कुर्सीहरू राखिएको थियो । अहिले कुर्सीको तलको भागमा फलामको पाता राखेर वेल्डिङ गरिएको हो। जसका कारण सांसदले कुर्सी उचाल्न सक्ने छैनन् ।


 
‘हामीले सवै खाले सुरक्षा रणनीती अपनाउनु पर्छ,’ प्रदेश सभा सचिवालयमा प्रमुख सचिव गोपालप्रसाद पराजुलीले भने, ‘७ गतेको बैठकका लागि सवै तयारी हुँदैछ ।’ प्रदेश सभा सञ्चालनका लागि यसअघि खटाइएका सादा पोसाकका प्रहरीको संख्या पनि थप गरिएको छ । प्रदेश सभामा जम्मा ९३ जना सांसद हुन् । ‘यस पटकलाई १० जना सुरक्षाकर्मी थपेका छौं,’ पराजुलीले भने, ‘यसअघि ४७ जना सादापोशाकका प्रहरी थिए । आवश्यकता अनुसार अरु पनि थप्ने तयारीमा छौं ।’ अहिले सादा पोसाकका प्रहरीको संख्या ५७ पुगेको छ । 

औपचारिक रूपमा पार्टी नफुटेको भए पनि नेकपा स्पष्ट दुई कित्तामा विभाजित छ । एकले अर्कोलाई निषेध गर्ने गरी गतिविधि गरिरहेको प्रदेश १ को नेकपा संसदीय दलका कारण प्रदेशसभा बैठकअघि बढाउन संसद सचिवालयलाई चुनौति भएको हो । सदन भित्र नेकपाका दुवै समूहलाई एउटै लाइनमा यस अघिकै जसरी बस्ने ठाँउ तोकिएको छ । 

कोरोना महामारीका कारण प्रदेशसभाको छैटौं अधिवेशन भने दुईवटा सभाहलबाट सञ्चालन गरिएको थियो । तर सातौं अधिवेशन भने आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर एउटै हलबाट सञ्चालन हुने पराजुलीले बताए ।


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x