कोशी

मुख्यमन्त्रीविरुध्दको अविश्‍वास प्रस्ताव : तीन सांसदले लिए हस्ताक्षर फिर्ता

लीलावल्लभ घिमिरे |
माघ ५, २०७७ सोमबार १८:२४ बजे

फाइल तस्वीर

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ जना संसादहरू पछि हटेका छन् । झापाका जसमाया गजमेर, गोपाल चन्द्र बुढाथोकी र श्रीप्रसाद मौनालीले आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गर्ने काम सही नभएको ठहर गर्दै फिर्ता लिएका हुन् । पुस १२ गते आफ्नै पार्टीका मुख्यमन्त्री राईविरुद्ध नेकपाका ६७ मध्ये ३७ जना सांसदले हस्ताक्षरगरी अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

पुस १२ गते सामाजिक विकास राज्यमन्त्री गजमेरले मन्त्री पदबाट राजीनामा गरेकी थिइन् । यस अघि नै उदयपुरकी सांसद कला घलेले अर्कै प्रयोजनाका लागि गरिएको हस्ताक्षर अविश्वासको प्रस्तावमा प्रयोग भएको भन्दै आपत्ति जनाइ सकेकी थिइन् । अब हस्ताक्षर भएका ३७ जनामा ३३ जना मात्र रहेका छन् । माघ ७ गतेबाट सुरु हुने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्तावको सामना गर्दैछन् ।
 



Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x