मधेश

संघीय सरकारविरुद्ध आन्दोलन

आजदेखि मधेश सरकारले प्रदेश प्रमुखको कार्यकक्षमा धर्ना दिने

इकागज |
साउन २९, २०७९ आइतबार ६:१५ बजे

काठमाडौँ - मधेश प्रदेश सरकारले आज(आइतबार)देखि संघीय सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । प्रहरी समायोजनको अधिकार हस्तान्तण गर्नुपर्ने माग राख्दै मधेश सरकारले आजदेखि एक सातासम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने भएको हो । दैनिक दुई घण्टा हुने धर्नामा प्रदेशका मन्त्री, सांसद र नागरिक समाजको सहभागिता रहने 

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअगावै प्रहरी समायोजन गर्न दिइएको ध्यानाकर्षणपत्रबारे नेपाल सरकारले कुनै चासो नदिएपछि बाध्य भएर पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिएको प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत शाहले बताए । 


एक हप्ताभित्र पनि माग सम्बोधन नभए नेपाल सरकारविरुद्ध ‘थप कडा’ आन्दोलनको कार्यक्रम घोषणा गरिने उनले चेतावनी दिए । 

मन्त्री शाहले सबै उत्पीडित समुदायको हितका लागि आफूहरूले धर्ना कार्यक्रम गर्नुपरेको उल्लेख गर्दै त्यसमा ऐक्यबद्धता जनाउन सबै प्रदेशका सरकारलाई पनि आह्वान गरे।

प्रदेश सरकारहरूले प्रहरी समायोजनको काम चाँडो सक्न संघीय सरकारलाई दबाब दिँदै आएका छन् । यसअघि सबै प्रदेशका गृहमन्त्रीहरूको भेलाले संघीय सरकारलाई प्रहरी समायोजन ऐन तत्काल जारी गरेर प्रहरीलाई प्रदेश मातहत दिन आग्रह गरेका थिए । 

मधेश प्रदेशले प्रहरी समायोजन गर्न ध्यानाकर्षण गराउँदै प्रदेश प्रमुखमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई एक साताअघि मात्र ज्ञापन पत्र बुझाएको थियो ।
 


Author

थप समाचार
x