मधेश

कुर्था–जयनगर सेवा : रेल चढ्न पाउँदैनन् स्थानीयवासी

अहिले एउटा रेलमा झण्डै ६५० जनासम्म अटाउँछन्

इकागज |
भदौ १०, २०७९ शुक्रबार १५:५७ बजे

फाइल तस्वीर

काठमाडौँ । जनकपुर आसपासका बासिन्दा कुर्था–जयनगर रेल सञ्चालन हुँदा उत्साहित भए । तर पनि रेल सेवाको क्षमता कम हुँदा स्थानीयवासीको माग पूरा हुन सकेको छैन ।    
    
दैनिक एउटा रेल दुईपटक आउने र जाने गर्दा धेरै यात्रु चाहेर पनि रेल चढ्न पाइरहेका छैनन् । झण्डै तीन सय सिट क्षमता रहेकामा खाँदिएरसमेत झण्डै सात सय यात्रु चढिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । दुई रेल भए पनि नियमितरुपमा एउटा मात्रै सञ्चालन गर्न सकिएको कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । उनका अनुसार नियमित मर्मतका लागि र एउटा रेल बिग्रँदा अर्काेले सहायता गर्नुपर्दा एउटा मात्रै नियमित सञ्चालन हुँदै आएको छ । यहाँ बसलगायतका सवारीसाधन नियमित नभएको र भाडादर पनि बढी हुँदा यात्रु रेलप्रति नै आकर्षित रहेका छन् । उनले भने, “अबका महिनामा यात्रु अझै बढ्ने भए पनि रेलको क्षमता नै कम छ ।”    
    
यो खण्डमा रेलको पूर्वाधार विसं २०७८ चैत १९ शुभारम्भ भएर त्यसको भोलिपल्टबाट नियमित सञ्चालन भएको थियो । ट््याक निर्माण सकिएको र रेल सेट खरिद गरेर पनि लामो समयसम्म त्यसै रहेकाले पनि तत्काल सञ्चालन गर्नु चुनौती रहेको प्रमुख झाले बताए । उनले भने, “झण्डै १० वर्षदेखि त्यहाँ रेल चल्न सकेको थिएन र नेपाल भारत सीमामा रेल त्यसै छोपेर राखिएको थियो ।”    
    
रेल खरिद पहिले नै संरचनागत सुधार गर्नुपर्ने भए पनि त्यो नगरी हतारिएर खरिद भएको प्रमुख झाले बताए। ट्र्याक बनिसकेको र रेल खरिद भएकाले जनस्तरबाट दबाब रहेको र तत्काल सुरु गर्न आवश्यक रहेको उनले बताए । “जनशक्ति व्यवस्थापन, रेलको वास सेन्टर, फ्युल स्टेशन, वासिङ सेन्टर बनाउनुपर्नेलगायतका संरचना विकास गर्नुपर्ने थियो । तर संरचना नबन्दै रेल चलाउन थाल्नुपर्ने भयो ।” उनले भने ।
    
आजसम्म पनि रेलका विभिन्न संरचना बन्न बाँकी छ । यसअघिको व्यवस्थापनबाट भारतको कोनकोन रेल्वे कर्पाेरेशन लिमिटेडसँग करार सम्झौता भएको भए पनि रकम अभावका कारण खरिद हुन नसकेको प्रमुख झाले बताए ।
    
अहिले धनुषा जिल्लामा पर्ने कुर्थाबाट ३४ दशमलव नौ किमी ट्याक सञ्चालनमा छ । बर्दिवासको बिजुलपुरासम्म १७ किमीमा ट्याक निर्माण सकिएर सञ्चालन गर्न हुने भएको छ । बिजुलपुराबाट बर्दिवाससम्म १८ किमीमा पनि रेलमार्ग निर्माण हुने र अबको केही वर्षपछि ७० किमी रेल चलाउनुपर्नेछ । उनले भने, “त्यहाँ आवश्यकता र मागका आधारमा रेल पनि सानो रहेको छ ।”    
    
अहिले एउटा रेलमा उभिएर र बसेर गरी झण्डै ६५० जनासम्म अटाउँछन् । अहिले कम्पनीसँग दुई थान रेल सेट रहेको छ । दुवै रेल सातामा एकएक दिन गरी दुई दिन नियमित मर्मतका लागि पठाइन्छ । आइतबार एउटा र एउटा सोमबार पठाइने गरिन्छ । मर्मतको दिनमा रेल दिनभर ‘सर्भिस सेन्टर’ हुने र चलाउन उनले बताए । ‍“नियमितरुपमा दुई रेल चलाउन हामीसँग तीन वटा हुनुपर्छ ।”   उनले भने ।
    
 रेल सञ्चालन गर्दा यात्रुबाहक रेलसँगै मालबाहक रेल आवश्यकपर्ने प्रमुख झाले बताए । अहिले एउटा रेल दुई पटक आउने र जाने गरेकामा टिकटबाट झण्डै रु सात करोड आम्दानी हुन्छ । तीन पटक चलाउँदा बढीमा रु १० करोडसम्म आम्दानी हुनसक्ने र मालबाहक चल्दा थप रकम आम्दानी हुनसक्ने उनले बताए ।    
अहिले रेल सञ्चालनका प्राविधिक कामका लागि भारतीय जनशक्ति करारमा काममा लगाइएको छ । आगामी दिनमा नेपाली जनशक्तिलाई तालिम दिएर दक्ष बनाउँदा महँगो तिरेर अरु देशबाट ल्याउनु ल्याउनु नपर्ने उहाँले बताए।    



Author

थप समाचार
x