मधेश

आचारसंहिता उल्लंघन गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नेछौं : आयुक्त जबरा

सुभाष कर्ण |
कात्तिक १९, २०७९ शनिबार २१:२५ बजे

जनकपुरधाम- आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले दिएका छन् ।

निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा जनकपुरधाममा आयोजित ‘प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन, २०७९ : निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा आयुक्त जबराले यस्तो चेतावनी दिएका हुन् ।


उनले भने, 'निर्वाचन आचारसंहिता पालना गर्न सबै पक्ष गम्भीर हुनुपर्छ । निर्वाचन आयोग कसैलाई पनि कारबाही गर्न इच्छुक छैन । तर, निर्वाचन आचारसंहिता उल्लंघन भइरहे आयोग चुप लागेर बस्दैन, अब स्पष्टीकरण मात्र सोधिने होइन जरिवानासहितको कडाभन्दा कडा कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको छ ।'

निर्वाचन क्षेत्रमा मतदाता, मतदान केन्द्र र भूगोललाई आधार बनाएर उम्मेदवारहरूको खर्च सीमा तोकेको स्पष्ट पार्दै आयुक्त जबराले चुनाव लड्ने, खर्च गर्ने तर आयोगमा खर्च विवरण नबुझाउनेहरूमाथि आयोगले कारबाही गरेको बताए ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरूको हातेमालो आवश्यक रहेको बताउँदै निर्वाचन आयोगको एक्लो प्रयासबाट मात्र सम्भव नभएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको जिकिर गरे ।

कार्यक्रममा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले आयोगले तोकेको खर्च सीमामै रहेर उम्मेदवारहरूले खर्च गर्नुपर्ने बताउँदै आचारसंहिता विपरीतको कार्य भएको उजुरी आएमा तत्काल अनुसन्धान गरी कारबाही गर्ने बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x