मधेश

प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक यादवलाई हटाउन मुख्यमन्त्रीकाे निर्देशन

इकागज |
फागुन ३०, २०७९ मंगलबार २०:७ बजे

जनकपुरधाम। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पतालका निर्देशक डा. प्रमोदकुमार यादवलाई पदबाट हटाउन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्देशन दिएका छन् । 

मुख्यमन्त्री यादवले सामाजिक विकास मन्त्रालयलाई निर्देशक यादवलाई पदबाट हटाउन निर्देशन दिएको हो । प्रादेशिक अस्पतालको ल्याब टेस्टमा लापरवाही तथा सेवा सुविधामा पटक पटक गुनासो आउन थालेपछि निर्देशक यादवलाई पदबाट हटाउन निर्देशन दिइएको मुख्यमन्त्री यादवले बताएका छन् । 


एउटै व्यक्तिको ब्लड ग्रुपसहितका फरक फरक रिपोर्ट दिएको र अस्पतालको सेवाको अवस्थाको विषयमा छड्के अनुगमन गर्दा अस्पतालका निर्देशकसहितका धेरै चिकित्सकहरू अनुपस्थित रहेको पाइएपछि निर्देशकमाथि कारबाही गर्न प्रतिष्ठानका सहकुलपति समेत रहेकी सामाजिक विकासमन्त्री सुरिता कुमारी साहलाई निर्देशन दिएको हो । 

साथै ल्याबका प्रमुख परमेश्वर यादवलाई गलत रिपोर्ट बनाउने कर्मचारीमाथि कारबाही गर्न समेत निर्देशन दिए ।

उपराष्ट्रपतिको चुनावका कारणले निर्वाचन आचारसंहिता लागेको बताउँदै आचार संहिता हटेपछि अस्पतालका निर्देशक डा. यादवलाई परिवर्तन गर्न प्रतिष्ठानका सह–कुलपति एवं सामाजिक विकास मन्त्रीलाई निर्देशन दिइएको मुख्यमन्त्री यादवले बताए । 

प्रादेशिक अस्पतालको प्रयोगशालाको परीक्षणको शुल्क निजी अस्पताल जस्तै भए पनि सेवा विश्वसनीय र भरपर्दो नभएको गुनासो सर्वसाधारणबाट आइरहेको छ ।


Author

थप समाचार
x