मधेश

मिथिलामा नाटक घरको शिलान्यास

इकागज |
चैत ३, २०७९ शुक्रबार २२:० बजे

जनकपुरधाम - धनुषाको मिथिला नगरपालिकामा अत्याधुनिक नाटक घरको शिलान्यास गरिएको छ । कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण मिथिला नगरपालिका ८ ढल्केबरमा अत्याधुनिक नाटक घरको शिलान्यास गरिएको छ । शुक्रबार मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले नाटक घरको शिलान्यास गरेका हुन् । 

नगर प्रमुख महतोले शिलान्यासमा मात्रै सीमित नराखी छिटोभन्दा छिटो नाटक घर निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । समाज परिवर्तनमा नाटकको महत्वपूर्ण भूमिका हुने हुँदा नाटक घर बनाउन नगरपालिकाबाट सक्दो सहयोग गर्ने बताए । 


मिथिला नगरपालिकाले उपलब्ध गराएको तीन कठ्ठा क्षेत्रफलमा आधुनिक शैलीमा निर्माण हुने नाटक घर बन्न लागेको छ । मधेश प्रदेशमा ख्याति कमाएका रोचक एण्ड घोचक नाट्य समूहले सो नाटक घर बनाउन लागेको हो ।

प्रकाश, ध्वनिको उच्चतम प्रविधि सहितको करिब एक करोड रूपियाँको लागतमा चार सय सिट क्षमताको सुविधासम्पन्न नाटक घर निर्माण हुने रोचक एण्ड चोचक नाट्य समूहका अध्यक्ष प्रदीप महतोले बताएका छन् । अध्यक्ष महतोले मधेश प्रदेशकै सबभन्दा ठूलो नाटक घर बन्ने बताउँदै निर्माणमा लाग्ने खर्च स्थानीय तह तथा विभिन्न दातृ निकायबाट सहयोग संकलन गरिने बताए । 

सो नाटक घरका लागि मिथिला नगरपालिका वडा ८ का वडाध्यक्ष वीरेन्द्र महतोले वडा विकास योजनाबाट तत्काल पाँच लाख रुपियाँबाट निर्माण शुरु गरिएको र अन्य निकायसँग समेत सहयोग माग्ने उनले जानकारी दिए ।
 


Author

थप समाचार
x