मधेश

अभियानी दिनेश पुर्वेको योजना सफल हुने संकेत

निर्माणमा अनेक अड्चन खेपेको अन्तर्राष्ट्रिय रंगशाला अब बन्छ ?

अन्तर्राष्ट्रिय रंगशाला निर्माणको उनको सपना साकार गर्न प्रदेश र उपमहानगर जुटे

सुभाष कर्ण |
चैत ९, २०७९ बिहीबार २०:३२ बजे

जनकपुरधाम । खेलको माध्यमले जनकपुरधामलाई वैवाहिक सांस्कृतिक राजधानीका रूपमा स्थापित गर्न गत १५ वर्षदेखि प्रयासरत दिनेश पुर्वेको अभियानले मूर्तता पाउने संकेत पाएको छ ।

जनकपुरधाममा अन्तर्राष्ट्रिय रंगशाला, श्रीरामजानकी विवाह मन्दिर र धनुषामा रामायण उल्लेखसहितका स्टेचु अफ मैरिजको गुरु योजना लिएर अघि बढेका पुर्वेको सपनाको पहिलो कडी श्रीराम जानकी अन्तर्राष्ट्रिय रंगशाला पुनः निर्माणबाट अघि बढेको छ ।


भारतीय सहयोगबाट उनी निर्माणका लागि गत ९ वर्षदेखि निरन्तर लागेका छन् । भारत सरकारले उनको गुरु योजनामा सहमति जनाई नेपाल सरकारलाई पटक पटक डिपीआरसहितको प्रस्ताव पठाउन ताकेता गर्दा पनि मधेश प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाको असहयोगका कारण करिब ५ वर्षदेखि रोकिएको थियो ।

भारत सरकारले तोकिएको रकम स्वीकृत गरिसकेपछि नेपाल सरकारले प्रक्रिया अघि बढाएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले पटक पटक पत्राचार मार्फत ताकेता गर्दा मधेश सरकारका निर्वतमान मुख्यमन्त्री लालबाबु राउत र जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बेवास्ता गर्दै आए । मेयर साहले बेवास्ता गरेपछि उनले आफू नै मेयर बनेर प्रक्रिया अघि बढाउन सोचेर पछिल्लो पटक स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय मुद्दा बनाएर मेयर पदमा चुनाव समेत लडे, तर जनताले उनलाई पत्याएनन् । चुनाव हारे । 

चुनाव हारे पनि पुर्वेले हिम्मत हारेनन् । उनले वर्तमान मुख्यमन्त्री सरोजकुमार यादव र मेयर मनोज साहलाई आग्रह गरेर प्रक्रिया अघि बढाउन सफल भए । पछिल्लो पटक मुख्यमन्त्री यादव र मेयर साह बिहीवार राखेपका सदस्य सचिव टंकलाल घिसिङ्गसंग भेटेर जनकपुरधामको महत्वाकांक्षी आयोजना धनुष आकारको श्री रामजानकी बहुद्देश्य अन्तर्राष्ट्रिय खेलमैदान निर्माणलाई तीव्रता दिन आग्रह गरेका छन् ।

काठमाडौँमा सचिवसँग भेटपछि बुधवार मुख्यमन्त्री यादव र मेयर साह नागरिक समाजका अगुवा, प्रदेश सांसदहरू र नागरिक समाजका अगुवाहरूको सहभागितामा निर्माणाधीन रंगशालाको निरीक्षण समेत गरेका छन् । जनकपुरधाम १४ मा निर्माणधीन श्रीरामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणस्थलको निरीक्षण गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले रंगशाला निर्माणमा प्रदेश सरकारले ५०  करोडदेखि १ अर्ब रूपैयाँसम्म लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

उपमहानगरपालिकाका मेयर साहले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गसँग गरेको छलफलमा ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना जनकपुरधाममा गर्नका लागि खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा मधेसका आठवटै जिल्लाका प्रमुख र पालिकाका प्रतिनिधि सदस्य रहने गरी एक कार्यदल गठन भएको जानकारी दिए ।

यसरी रोकिएको थियो निर्माण

भारत सरकारले दिनेश पुर्वेले माग गरे अनुरूप जनकपुरधामस्थित श्रीराम जानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणको गुरुयोजना स्वीकृत भइसकेको र प्रस्ताव पेश गर्न जानकारी दिएपछि नेपाल सरकारका तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ती रंगशाला झापामा बनाउन आग्रह गरे । तर, भारत सरकारले अस्वीकार गरेपछि त्यो योजना यथवात रहन गएको पुर्वे बताउँछन् ।

उनले भने ‘सो क्रममा जनकपुरधामको योजना असफल पार्न जनकपुरधामसहित सातै प्रदेशमा प्रादेशिक रंगशाला योजना घोषणा गरी प्रक्रिया अघि बढाइयो । बजेट अढाई करोड विनियोजन गरियो । तर, सहज तरिकाले आउन सक्ने भारतीय सहयोगमा कसैले ध्यान नदिई राजनीतिक चलखेल गर्दै नेपाल सरकारबाट लगानी गर्न खोजे । तर, प्रदेश सरकार र उपमहानगरको बेवास्ताले त्यही रोकिन गयो ।’

मधेश सरकारका निवर्तमान मुख्यमन्त्री लालबाबु राउतले ती योजना आफ्नो क्षेत्र वीरगंजमा लग्न प्रयासमा लागेको उनले सुनाए । ‘उपमहानगरका मेयर लालकिशोर साहले त्यसको नेतृत्व आफूले लिने र शिलान्यास आफूले नै गर्ने सोचले रोकिन गएको थियो,’ उनी भन्छन्, ‘राखेपबाट आफूले दुवैका निकायमा प्रस्ताव पेश गर्न पटकपटक काठमाडौं गएर पत्राचार गरायौं । तर, तिनीहरूले आफूलाई टेरेनन् ।’

उनले सो योजना वीरगञ्ज लग्न भनी जनकपुरधाममा प्रादेशिक र वीरगञ्जमा अन्तर्राष्ट्रिय बनाउने मन्त्रिपरिषदबाट निर्णय नै गराएको बताए । भारत सरकारले त्यहाँको पनि प्रस्ताव अस्वीकार गरेपछि प्रादेशिक रंगशाला नै वीरगञ्ज लैजान खोजेको उनको भनाइ छ ।

मन्त्रिपरिषदबाट जनकपुरधामको प्रादेशिक रंगशाला वीरगञ्ज लैजान निर्णयसमेत गराउन खोजेको थिए । तर, सामाजिक विकास मन्त्री नवलकिशोर साहले उनकै मन्त्रालयबाट प्रक्रिया अघि बढ्ने भएकाले उनले अडान जनकपुरधाममै राख्न प्रस्ताव गरेपछि वीरगंज जानबाट रोकियो । मेयर लालकिशोर साहकहाँ डिपीआरसहितको प्रस्ताव पेश गर्न ताकेता गर्न जाँदा त्यसको नेतृत्व आफूलाई देउ र शिलान्यास आफू नै गर्ने जवाफ दिने गरेको उनले सुनाए ।

‘अन्तर्राष्ट्रिय र भारतीय सरकारको लगानीमा निर्माण हुने भएकाले आफूले भारत र नेपाल दुवै देशका प्रधानमन्त्रीबाट शिलान्यास हुनुपर्ने भएकाले मेयरज्यूलाई सहमति जनाएनौं,’ उनले भने, ‘यति अवरोध भएपनि हिम्मत हारेनौं प्रयासमा दिनरात लागेका छौं ।’

रंगशालामा भएका प्रयास

भारत सरकारको आग्रहपछि खेलकुद विकास परिषद्ले पहिलो पटक २०७५ वैशाख २५ गते मधेश प्रदेश सरकारलाई नेपाल र भारतको मायाको चिनोको प्रतिकका रूपमा जनकपुरधाममा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न भारतीय सरकार तयार रहेकाले त्यसमा आर्थिक प्राविधिक (डिपीआर) सहितको प्रस्ताव पेश र पहल गर्न पत्राचार गरेको छ ।

पछिल्लो पटक २०७८ पुस २१ गतेका दिन राखेपाले फेरी जनकपुरधाम उपमहानगर र प्रदेश सरकारलाई पत्राचार गरियो तर दुवै तहका सरकारले कुनै चासो लिएन । अन्ततः पुर्वेको हारगुहारपछि गत बिहीवार मुख्यमन्त्री यादव र मेयर साहले सक्रियता देखाएका हुन । 

२०७६ भदौ २० मा तत्कालीन युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सो रंगशालामा क्रिकेट, फुटबल र हक्की स्टेडियम बनाउने निर्णय नै गरेका थिए । त्यस अनुरूप भारत सरकारले सहयोग गर्ने ६ अर्ब १९ करोड १८ लाख ६ हजार ५ सय १२ रूपैयाँ अनुमानित लागत उपलब्ध गराई दिन भारत सरकार समक्ष पहल गर्न खेलकुद परिषदले अर्थमन्त्रालयलाई ०७७ असार २८ मा पत्राचार समेत गरेको छ ।

प्रादेशिक रंगशाला आयोजना अन्तर्गत २ करोड ५० लाख रूपैयाँ बजेट अन्य प्रदेशसहित मधेश प्रदेशमा पनि विनियोजन गरियो । पुर्वेका अनुसार नेपाल सरकारले दिएको उक्त रकमबाट गेट निर्माण, कार्यालयका सुरक्षा गृह, बाउन्ड्री वाल तथा तारवारका लागि उक्त बजेट बिनियोजन भएको थियो । तर, अहिले सो ग्राउण्डको केही भागमा मात्रै अहिले बाउण्ड्री निर्माण भयो ।
 

पुर्वेको रंगशालामा प्रयास

धनुषाको मिथिला विहारी नगरपालिका १० ठेराका पुर्वे जनकपुरधामलाई वैवाहिक सांस्कृतिक शहरका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय रंगशाला, श्रीरामजानकी वैवाहिक मन्दिर, धनुषामा सम्पूर्ण रामायण र एम्स अस्पतालसहितका निर्माणको सपना लिएर विगत १५ वर्षदेखि जनकपुरधाममा नै डेरा लिएर बस्दै आएका छन्।

तत्कालीन युवा तथा खेलकुद मन्त्री गणेश तिवारीलाई २०६६ असार १० गते जनकपुरमा एउटा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि बजेट बिनियोजन गराइदिन आग्रह गर्दै अभियानको थालनी उनले गरेका थिए । उनी भन्छन् ‘बजेट पनि ५ करोड रूपैयाँ विनियोजन भयो । तर, त्यो योजना महोत्तरीको जलेश्वर लग्न खोजियो, दुर्भाग्य न त जनकपुरधाममा बन्यो न जलेश्वरमा । बजेट नै फ्रिज हुन गयो ।’

त्यसपछि २०७१ सालमा पुर्वेले आफ्नै अध्यक्षतामा गोजुरियो कराँते संघ धनुषामा एउटा बैठक गरे । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा उपस्थित रहेको उक्त बैठकबाट रंगशाला निर्माणका लागि पुर्वेको संयोजकत्वमा रंगशाला निर्माण समिति गठन गरियो । जिल्ला प्रशासन कार्यालय धनुषामा संस्था दर्ता गराउने बेलामा राम जानकी खेलकुद विकास संस्थाको नाममा दर्ता गरियो ।

२०७१ वैशाख २१ गते बसेको बैठकमा रंगशाला निर्माणका लागि गुठी संस्थानको स्वामित्वमा रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित लक्ष्मण मन्दिरको मातहत रहेको करिब १७ बिघा जग्गामा रंगशाला निर्माण गर्ने निर्णय गरियो । सो अनुरूप २०७४ मंसिर ३ गते गुठी संस्थान प्रधान कार्यालयका कार्यकारी प्रशासक नारायण चौधरी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टबीच ३० वर्षका लागि वार्षिक ९ लाख रूपैयाको लिजमा १७ विघा जग्गा दिने पुर्वे साक्षीमा सम्झौता भएको थियो ।

त्यसपछि जनकपुर विकासको समाजको तर्फबाट पुर्वेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको रंगशालासहित स्टेचु अफ मैरिज निर्माणमा सहयोगका लागि पत्रचार गरियो । सो पत्राचारपछि भारतीय प्रधानमन्त्री कार्यालयबाट केही वर्ष जवाफ आएन । भारतीय पक्षबाट जवाफ नआएपछि उनले नेपालकै निकायमहरूमा दर्जनौं पटक जिल्ला प्रशासन कार्यालय धनुषा, गुठी संस्थान शाखा कार्यालय जनकपुर, गुठी प्रधान कार्यालय, राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत बिभिन्न सरोकारवाला निकायहरूमा पुर्वे धाइ रहे । सबै सरोकारवाला निकायहरूबीच एकआपसमा पत्राचार उनले गर्दै गयो ।

सोही क्रममा रंगशाला निर्माणका लागि २०७४ जेठ २ गते तत्कालीन युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीले उक्त स्टेडियमको नाम ‘श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला जनकपुरधाम’ राख्ने निर्णय समेत गरे । भारत सरकारले २०७६ पुस ७ गते भारतीय प्रधानमन्त्री कार्यालयले दिनेश पुर्वे सहित नेपाल सरकारलाई पुर्वेले मागेको सहयोगमा भारत सरकार सहमत रहेको भन्दै योजना पठाउन पत्राचार गरेको थियो । भारतीय प्रधानमन्त्री मोदीको यो प्रतिबद्धताले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, मधेश सरकार र जनकपुरधाम उपमहानगरमा धाईरहे ।

स्टेचु अफ मैरिज गुरुयोजनामा विवाह मण्डपको ३० विघा जग्गामासबै देशको मित्रताको प्रतिक झल्किने २ सय देशको झण्डासहितको श्रीरामजानकी विवाह झल्किने खालका स्टेडियम, त्यसको अगाडि सीताराम विवाह मन्दिर, बाउन विघामा सम्पूर्ण रामायण लेखिएको ५५५ मिटरको धनुष, जनकपुरधाम १४ मा श्रीरामजानकी अन्तर्राष्ट्रिय रंगशाला र श्रीरामजानकी विवाह एम्स हस्पिटल निर्माण सहितको ६ योजना अघि बढाइएको छ ।

यो अभियानमा लागेकै कारण घर परिवार तथा समाजबाट तिरस्कारको सामना समेत गरिरहनु परेको छ । कतिपयले पुर्वेको मानसिक सन्तुलन गुमिसकेको पनि भन्ने गरेको बताउँछन्, पुर्वेले भने ‘तर यसले मलाई केही फरक पर्दै मेरो बारेमा कसले के सोच्छ, मेरो अभियान निरन्तर जारी रहन्छ,’ उनले भने ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x