मधेश

डेंगुको ‘हटस्पट’ धरानमा खोलाबाट वितरित पानीमा ‘कोलिफर्म’

बाबुराम भण्डारी |
साउन १८, २०८० बिहीबार २२:१० बजे

विराटनगर - धरान उपमहानगरपालिका खोलाबाट पाइप लगाएर सिधै ट्यांकीमा खन्याएको पानीमा मानव वा अन्य जीवजनावरको दिसामा पाइने कोलिफर्म भेटिएको छ । धरानमा खानेपानी बोर्ड अन्तरगत विभिन्न खोलाबाट संकलन गरी पानी वितरण भइरहेकोमा ती स्रोतका पानीको नमूना संकलन गरी परीक्षणगर्दा कोलिफर्मको मात्रा ३५ प्रतिशतसम्म भेटिएको जनाइएको छ ।

धरान डेंगुको ‘हटस्पट’ का रुपमा रहेको शहर हो । बिहीबारसम्म यहाँ ४ हजार ९०० को डेंगु परीक्षण हुँदा २ हजार ९९४ जनामा डेंगु संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाले जनाएको छ । परीक्षण अनुसार संक्रमितको दर ६१ प्रतिशत रहेको छ ।


फोहोर पानीको स्रोतबाट फैलिने लामखुट्टेका कारण धरानमा डेंगु संक्रमण नियन्त्रणमा आउन नसकेकै बेला पिउने पानी पनि सफा नभएपछि धरानबासी चिन्तित बनेका छन् । धरानका विभिन्न सात वटा स्थानमा रहेका पानीको स्रोतबाटै नमूना संकलन गरी परीक्षण गर्दा झाडापखाला र हैला फैलाउन सक्ने कोलिफर्म भेटिएको पुष्टि भएको पानी परीक्षणमा अगुवाई गरेका स्थानीय सुमन श्रेष्ठले बताए । परीक्षण गर्दा विशेषगरी खोलाको स्रोतबाट आउने पानीमा कोलिफर्म भेटिएको उनले जानकारी दिए । संकलित नमूनालाई खानेपानी मन्त्रालय अन्तरगतको खानेपानी गुणस्तर परीक्षण प्रयोशाला इटहरीमा परीक्षण गरिएको जनाइएको छ ।

संकलित सवै नमूनामा कोलिफर्म पुष्टि भएपछि त्यसको जानकारीसहित परीक्षणको प्रतिवेदन नै बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई बुझाइएको छ । धरानमा वितरित पानी पिउन योग्य नरहेको भन्दै मेयर साम्पाङलाई ध्यानाकर्षण गराइएको राष्ट्रिय स्वतन्त्र पार्टी धरान उपमहानगर समितिका सचिव समेत रहेका श्रेष्ठले बताए ।

मेयर साम्पाङलाई पानी शुद्धीकरणको लागि तत्कालै गर्नसक्ने कामसमेत सुझावमा दिइएको जनाइएको छ । पानी परीक्षणको प्रतिवेदनमा धरानको फुस्रेस्थित रिजर्भ ट्यांकीको पानीमा कोलिफर्मको मात्रा ३० युनिट मापन भएको जनाइएको छ । 

धरान–१४ अर्को रिजर्व ट्यांकीको पानी परीक्षण गर्दा त्यसमा कोलिफर्मको मात्रा ३५ आएको छ । खर्दु खोलाबाट ल्याएको पानीमा कोलिफर्मको मात्रा १५, सर्दुको पानीमा १० र निशानेमा रहेको ट्यांकीको पानीमा कोलिफर्मको मात्रा २० मापन भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी कोकाहाबाट ल्याइएको पानी परीक्षण गर्दा त्यसमा पनि कोलिफर्मको मात्रा ५ मापन भएको पाइएको छ । 

सात वटै स्रोतबाट संकलित पानीलाई प्रयोगशालामा अमेरिकन पब्लिक हेल्थ एशोसिएशनको मापदण्ड एवं राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार परीक्षण गरिएको प्रतिवेदनमा जनाइएको छ ।

यता पानीमा कोलिफर्म भेटिएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पानीको गुणस्तर कायम हुन नसकेको स्वीकार गरेका छन् । उनले धरानमा गुणस्तरीय पिउने पानीभन्दा आफुले सामान्य प्रयोजनकै लागि पानीको अभाव टार्न अभियान चलाइरहेको प्रष्टीकरण दिए । 

प्रतिवेदन बुझ्दै आफ्ना सामु अनेकौं बाध्यात्मक अवस्था रहेकोले धरानबासीलाई कम्तीमा धमिलो पानी भएपनि उपलब्ध गराउने सोच लिएर अभियानमा जुटेको बताए ।

‘प्रतिवेदनको विषयमा नकारात्मक हुने कुरै भएन, हाम्रो केही बाध्यताहरुका कारणले यी कुरा भएका छन्, नगरबासीमा धमिलै भएपनि पानी दिए हुन्थ्यो भन्ने स्थिति छ, पानीको मागलाई परिपुर्ति गरिछाड्नुपर्ने बाधयता छ किनभने भूमिगत पानीले हामीलाई पुगेन’ उनले भने, ‘पुगेको भए हामीले किन खोलाबाट ल्याइराख्नु पर्थ्यो, सतहबाट बगेर आउने पानीले विभिन्न कुराहरू लिएर आउँछ, त्यो अस्वाभाविक होइन तर सतहको पानी खानुपर्ने र वितरण गर्नुपर्ने बाध्यता छ ।’

उनले आफूलाई पानीको गुणस्तर भएन भनेर पहिल्यै देखि गुनासोहरू पनि आइरहेको जानकारी दिए । तर गुणस्तर सुधार  गर्न सम्बन्धित निकायहरूलाई पनि भनिरहेको बताए । धरानमा विगतदेखि नै पानीको समस्या रहेकोले पानीकै कारण आफू मेयर पनि भएको बताए । 

‘धरानमा पानीको क्वान्टिटी नपुगेर नै म मेयर भएँ, अब क्वालिटी पनि चाहियो भन्नेमा मेरो प्रयास रहनेछ, क्वालिटीमा पनि हामी ध्यान दिन्छौं’ उनले भने, ‘सर्दुको पानीमा कोलिफर्म देखियो भन्ने आउँदा मैले देखिएन भन्दिन, त्यहाँ बाहिर सर्फेसबाटै पानी बगेर आएको छ, पानीको गुणस्तर नियन्त्रण गर्न सबै जना लाग्नुपर्छ, म विज्ञहरुको सल्लाह लिन्छु, जतिसक्दो क्वालिटी लेभलको पानी पुर्याउने प्रयास गर्छु, त्यसमा सबैका सकारात्मक सहयोग रहोस् ।’

 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x