मधेश

मधेश सरकारले मनाएन संविधान दिवस

सत्तारुढ दलमध्ये कांग्रेस बाहेक कोही, तटस्थ त कोही विरोधमा

सुभाष कर्ण |
असोज ३, २०८० बुधबार १४:६ बजे

जनकपुरधाम- नेपाल सरकारले भव्यताका साथ तीन दिनसम्म संविधान दिवस मनाउने घोषणा गरेकोमा मधेश सरकारबाट कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।

सत्तारुढ दलहरुबाट कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी बाहेक जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टी न विरोध जनाएका न समर्थन नै देखाई तटस्थ बसेका छन् । सत्तारुढ दलबाट एकमात्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संविधान दिवस ‘असोज ३’ लाई कालो दिवसको रुपमा मनाउँदैछन् ।


कांग्रेसले प्रदेश र जिल्ला स्तरमा संविधान कार्यान्वयन र यसको औचित्यता बारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन, सांझ पख दिपावली मनाउने कार्यक्रम रहेको कांग्रेस मधेश प्रदेश सभापति एवं प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादवले जानकारी दिए ।

सरकार पक्षबाट कुनै कार्यक्रम आयोजना गरिएको छैन । तर पार्टीको केन्द्रीय निर्देशन अनुसार प्रदेश स्तरमा र हरेक जिल्लामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । मन्त्री यादव पार्टीको औपचारिक कार्यक्रममा सहभागी हुन काठमाडौँमा गएका छन् । सरकारले गरेको घोषणा अनुरुप संघ र प्रदेश दुवै सरकारमा सहभागिता जनाएका सत्तारुढ दल नेपाली कांग्रेसले अन्तरक्रिया कार्यक्रम गरी संविधान दिवस मनाइरहेका छन र सांझ पख दिपावली मनाउने कार्यक्रम राखेको छ ।

सरकारबाट संविधान दिवसमा कुनै कार्यक्रम आयोजना नगरिएको नेकपा एसका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रीले पनि जानकारी दिएका छन् । उनले भने सरकारबाट कुनै औपचारिक कार्यक्रमको जानकारी आएको छैन, पार्टीबाट कार्यक्रम आयोजना गरिने सुनेको थिए । तर के कार्यक्रम छ भन्ने बारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।

नेकपा एसले खासै कुनै कार्यक्रम आयोजना नगरी प्रदेश तथा जिल्लास्तरमा पार्टी कार्यालयहरुमा दिपप्रज्वलन गरी संविधान दिवस मनाएका छन् । यता न समर्थन र न विरोध, यथास्थितिमा रहेका सरकार नेतृत्वकर्ता जसपाले कुनै प्रतिक्रिया दिएका छैनन भने जनमत पार्टीले आफूहरु न समर्थन र न विरोध यथास्थितिमा रहेका बताएका छन् ।

जनमत पार्टी मधेश प्रदेश अध्यक्ष एवं शिक्षा तथा समाज कल्याण मन्त्री महेश यादवले भने सरकारबाट कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको बारे जानकारी आएको छैन, कर्मचारीहरुले सरसफाई कार्यक्रम गरेको र सांझ पख दियावती बाल्ने बुझेको छु । पार्टीले न समर्थन र न विरोध जनाएको छ, प्रेस विज्ञप्ति मार्फत हामीले संशोधनको माग राखि तटस्थ बसेका छौं ।

सरकार नेतृत्वकर्ता जसपा प्रवक्ता मनिष सुमनले भने पार्टीले संविधानको पूर्ण रुपमा स्वामित्व लिएको छैन, तर विगतमा जस्तो कालो दिवस भनेर औपचारिक कार्यक्रम पनि गर्ने छैन ।

यता सतारुढ दल लोसपाले संविधान दिवसको विरोध गर्दै कालो दिवसको रुपमा मनाउने निर्णय गरिसकेका छन् । सो निर्णय अनुरुप लोसपाले आज दिउंसो ४ बजे विरोध प्रदर्शनको कार्यक्रम प्रदेशका राजधानी जनकपुरधाम सहित हरेक जिल्लामा राखेका छन् । सरकार बाहेकका दल तमलोपाले समेत कालो दिवसको रुपमा संविधान दिवसलाई मनाएको छ । आज बिहान तमलोपाले कालो झण्डा प्रदर्शन गरेका छन भने दिउंसो विरोध प्रदर्शनको कार्यक्रम राखेको छ ।

संविधान ३ असोज २०७२ मा नयाँ संविधान जारी भएको खुसियालीमा अरुतिर दिपावली भइरहँदा मधेशमा ‘ब्ल्याक आउट’ गरिएको थियो । संविधानसभाको बैठकहरु बहिस्कार गरेर आन्दोलनमा उत्रिएको तत्कालीन मधेशी मोर्चाको आह्वानमा तराई मधेशका जिल्लाहरुमा धेरैले बत्ती निभाएका थिए । त्यसपछिका वर्षहरुमा मधेश केन्द्रित दलहरुले संविधान दिवसलाई कालो दिन भनेर मनाउन थालेको थियो । तर अहिले सरकारमा सहभागी भएपछि केही दलको अवस्था फेरिएको छ । उनीहरु तटस्थ बेका छन् । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x