मधेश

राष्ट्रपति पौडेलेको जनकपुरधाम भ्रमणको तयारी पूरा

सुभाष कर्ण |
असोज ७, २०८० आइतबार २१:३६ बजे

जनकपुरधाम- भाेलि सोमबार जनकपुरधाम भ्रमणमा आउन लागेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत तथा नागरिक अभिनन्दनको सबै तयारी पूरा भएको छ । उनलाई जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट गरिन लागेको नागरिक अभिनन्दनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

जनकपुरधामको तिरहुतिया गाछीस्थित वर्षौंअघि निर्माण भएको महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्रको उद्घाटन गर्न राष्ट्रपति पौडेल यहाँ आउन लागेका हुन् । बिहान ८ बजे नेपाली सेनाको विशेष विमानबाट जनकपुरधाम विमानस्थलमा अवतरण गर्ने र त्यसपछि सोझै जानकी मन्दिरमा गएर विशेष पूजा अर्चना गर्ने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिएका छन् ।


जानकी मन्दिरमा पूजापाठ पश्चात नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको निवासमा स्वागत तथा सम्मानको कार्यक्रम रहेको छ । निधिको निवासमा स्वागत तथा सम्मान कार्यक्रमपछि दिउँसो एक बजे महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्रको उद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रम रहेको प्रजिअ पाण्डेले जनाएका छन् ।

राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमणलाई सफल बनाउनका लागि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विमलेन्द्र निधि, आनन्दप्रसाद ढुंंगाना, रामकृष्ण यादव, जनकपुरधाम उपमहानगरपालिका लगायत संघ संस्थाहरू केही दिनदेखि आन्तरिक तयारीमा लागेका छन् ।

जनकपुरधामको तिरहुतिया गाछीका जग्गामा मिथिलाको सँस्कृति तथा जनक एवं जानकीको संग्राहलय समेतको परिकल्पना गरिएको यस मिथिला सँस्कृति केन्द्रको निर्माण भएको वर्षौंपछि उद्घाटन हुन लागेको हो । उद्घाटन नभएर प्रयोगविहीन रहेकाे सो केन्द्रमा लामो समयदेखि प्रहरीले बसेको र ठेकेदारको ढिलासुस्तीका कारण निर्माण कार्य अहिले पनि योजना अनुसार अपूर्ण नै बताइएकाे छ । सो मिथिला सँस्कृति केन्द्रमा ५ सय ४० दर्शकदीर्घासहित करिब ६ सय सिट क्षमताको सभाहल रहेकाे छ ।

यता अहिले जनकपुरधाम उपमहानगरपालिकासमेत राष्ट्रपति पौडेलको नागरिक अभिनन्दनको आन्तरिक तयारीमा पूरा भइसकेको जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज साहले जानकारी दिएका छन् ।

मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाममा सार्वजनिक मञ्च नहुँदा ठूला सेमिनार तथा समारोहहरू अन्यत्रै गर्नुपर्ने राजनीतिक दललगायतहरूको रहँदै आएको बाध्यता मिथिला सांस्कृति केन्द्र उद्घाटनपछि टर्ने नेपाली कांग्रेस धनुषाका सहसचिव विजयकुमार यादवले बताएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x