मधेश

मुख्यमन्त्रीको विरोधमा स्टाटस लेख्ने डाक्टर रिहा, आफूलाई गाली गर्नेलाई थुन्ने मुख्यमन्त्रीको चेतावनी

सुभाष कर्ण |
असोज ११, २०८० बिहीबार २१:४१ बजे

जनकपुरधाम - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको विरोधमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेको आरोपमा पक्राउ परेका जनकपुरधामका डा. अरुण झा मधेशी पक्राउ परेको २४ घण्टापछि रिहा भएका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले मुख्यमन्त्री कार्यालयको उजुरीको आधारमा आयुर्वेद चिकित्सक अरुण झा मधेशीलाई बुधबार दिउँसो पक्राउ गरेको थियो । 


 सामाजिक सञ्जालमा उनले मुख्यमन्त्रीको विरोधमा लेखेपछि मुख्यमन्त्री कार्यालयले उनी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । 

हिन्दु अभियन्ता सहितका जनकपुरधामका स्थानीय युवाहरूको दबावमा प्रहरीले उनलाई बिहीबार रिहा गरेको हो । विगत केही दिनदेखि मधेश प्रदेशको सर्लाही मलंगवामा दुई समुदायबीच तनाव चलिरहेको बेला डा. झाले मुख्यमन्त्री यादवले बाराको एक कार्यक्रममा सामाजिक सद्भाव बिगार्नेलाई गोली हान्ने  अभिव्यक्ति दिएको कोड गर्दै कालोमोसो दल्ने भन्ने स्टाटस लेखेका थिए । 

सोही स्टाटसलाई आधार बनाएर मुख्यमन्त्री कार्यालयले झाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । झाले फेसबुकमा 'मलंगवामा भएको घटनाका दोषीलाई कारवाही/गोली हान्नुस मुख्यमन्त्री सरोज यादव ज्यू, नत्र हामी छिट्टै तपाईलाई कालोमोसो दल्छौँ ।' लेखेका थिए । 

झालाई पक्राउ गरेपछि चौतर्फी आलोचना भएको थियो । लोकतन्त्रमा वाक स्वतन्त्रतामाथि मुख्यमन्त्रीले प्रहार गर्न थालेको भनी टीकाटिप्पणी सहित सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेपछि मुख्यमन्त्री यादवकै आदेशमा उनलाई रिहा गरिएको बताइएको छ । 

यसैबीच बुधबार नै मुख्यमन्त्री यादवले जनकपुरधामस्थित एक स्थानीय टेलिभिजनलाई दिएको अन्तवार्तामा झाप्रति लक्षित गर्दै आफूलाई गाली गर्नेलाई प्रहरीमा थुनाएर कारबाही गर्ने चेतावनी समेत दिएका थिए । उनले अन्तरवार्तामा आफ्नो नम्बर सार्वजनिक गर्दै भनेका थिए, 'कुनै किसिमको पार्टीगत र पूर्वाग्राही हिसाबले फेसबुक, व्हाट्स अपमा बिना मतलब मेरो विरोधमा गाली गरे वा लेखेमा त्यस्तालाई जनकपुरधाममा मात्रै होइन दुनियाँको कुनैपनि कुनामा भएपनि कानुनी व्यवस्था अनुसार मुद्दा दिई थुनामा रखाएर कारबाही गर्छु ।' 

मुख्यमन्त्रीले दिएको यो अभिव्यक्ति अहिले टिकटक फेसबुक लगायतका सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x