मधेश

अर्थतन्त्र सुधारोन्मुख : मन्त्री महत

सुभाष कर्ण |
असोज १३, २०८० शनिबार १७:१० बजे

जनकपुरधाम- अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । शनिबार जनकपुरधाम उद्योग बाणिज्य संघको ५६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले बजारमा हल्ला फैलाए जस्तो देशको आर्थिक अवस्था नभएकाे बताए । अहिले अर्थतन्त्र क्रमिक रूपमा सुधारोन्मुख अवस्थामा गइरहेको उनकाे भनाइ छ । 

मन्त्री महतले आम्दानीभन्दा खर्च बढी रहेका कारण देशको आर्थिक अवस्था कमजोर भएको जिकिर गरे । उनले भने, 'प्रमुख आम्दानीको श्रोत राजश्व संकलन हुन सकिरहेको छैन, रेमिटेन्समा समेत कमी आएको छ । तर, कर्मचारी, प्रहरी प्रशासनको सेवा सुविधा, ज्येष्ठ नागरिक लगायतका सामाजिक दायित्वका फजुल खर्च र पुँजीगत खर्चभन्दा बढी ऋणको साँवाब्याज नै तिर्नु परिरहेको कारण अर्थतन्त्र कमजोर भएको छ ।'


महतले अहिले पुँजीगत लगानी ३ सय २ अर्ब र ऋण साँवाब्याजको खर्चमात्रै ३ सय ७ अर्ब रहेको उल्लेख गरे । उनले पोखरा र लुम्बिनी विमानस्थल लगायतको संरचनामा लगानी गरे पनि आम्दानी हुन नसक्दा समेत आर्थिक अवस्थामा असर पारेको बताए ।

कोभिड र विभिन्न राष्ट्रबीच युद्धले संकटमा परेको अर्थतन्त्र अन्तर्राष्ट्रियस्तर र नेपालमा समेत क्रमिक सुधार भइरहेको दाबी उनकाे छ । उनले कोभिडको अन्त्य, पर्यटकहरूको आगमनमा वृद्धि भएपछि देशको अवस्था सुधाराेन्मोख भएको बताए । रेमिटेन्स आएको तर गलत अफवाहका कारण घर र बैंकमै थन्किएकाले पनि व्यापक समस्या जस्तो देखिएको उनको भनाइ छ ।

उनले मधेश प्रदेशमा उद्योग व्यवसायको ठूलो सम्भावना रहेकाले यहाँ औद्योगिक हब बनाउने तयारीमा सरकार लागेको बताए । पूर्वमा कोशी र पश्चिममा मधेश प्रदेशलाई जोडेर सांस्कृतिक, पर्यटकीय र कृषि क्षेत्रको उत्पादनसहितको औद्योगिक हब बनाइने उनले जिकिर गरे । 

कार्यक्रममा एमाले नेतृ जुली महतोले बजेटमा सरकारले मधेश सरकार विभेद गरेको भन्दै जनकपुरधामको विकास बजेटमा कन्जुस्याइँ नगर्न आग्रह गरिन् । जउवा संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, प्रदेश सांसद राम सरोज यादव, दिपेन्द्र ठाकुर आ-आफ्ना धारणा राखेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x